काठमाडौं । सीमा जागरण मंचका अखिल भारतीय सदस्य तथा इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयका प्राध्यापक डा. चित्रेश सोनीको प्रमुख उपस्थितिमा “हिन्दू जीवन दर्शन” विषयक एक भव्य उदबोधन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
हिन्दू सभ्यता, दर्शन र वर्तमान विश्व सन्दर्भमा यसको प्रयोगात्मक पक्षबारे व्यापक छलफल भएको उक्त कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए । अध्यक्ष यादवले आफ्नो सम्बोधनमा हिन्दू जीवन पद्धति केवल धर्मिक अभ्यास मात्र नभइ सामाजिक सद्भाव, वैज्ञानिक सोच र मानवीय मूल्यको मार्गदर्शक भएको उल्लेख गर्दै अभियानले सञ्चालन गर्दै आएका राष्ट्रहितका कार्यक्रमहरूलाई सशक्तरूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।
प्रमुख अतिथिका रूपमा उपस्थिति रहेका पूर्वमन्त्री रामेश्वर राय यादवले हिन्दू दर्शनलाई नेपाली समाजको नैतिक मेरुदण्डका रूपमा चित्रण गर्दै अहिलेको राजनीतिक, सामाजिक अन्यौलताका बीच यो दर्शनले मार्गदर्शन गर्ने बताए । उनले हिन्दू जीवन पद्धति र राष्ट्रवादको अन्तर्सम्बन्धबारे आफ्नो गहिरो दृष्टिकोण प्रस्तुत गरे ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रुक्मिणी चौधरी, जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष इन्जिनियर दीपक साह, सह–प्राध्यापक संजय पटेल, सम्पादक दिनेश डीसी र अन्य सामाजिक अगुवाहरूले मन्तव्य राख्दै हिन्दू दर्शनको वैज्ञानिकता, विश्व स्वीकार्यता, र युवा पुस्तामा यसको पुनर्जागरणको आवश्यकताबारे जोड दिएका थिए ।
स्वागत मन्तव्य चन्द्र यदुवंशीले गरेका थिए भने कार्यक्रमको उद्देश्य, डा. सोनीको योगदान र अभियानको वर्तमान गतिविधिबारे संक्षेपमा जानकारी गराइएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय एकता अभियानका युवा विभाग संयोजक दिवस पटेलले गरेका थिए । संयोजक पटेलले हिन्दू दर्शनमाथि युवाहरूको बढ्दो आकर्षण र यसलाई व्यावहारिक शिक्षाका रूपमा स्थापित गर्न अभियानले लिएको रणनीति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभियानका केन्द्रीय सदस्य लक्ष्मी ज्ञावली, रीता साह, कलानन्द मिश्र, जय नारायण यादव, धर्मेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो । सभाहल विचार विमर्श र भावनात्मक अभिव्यक्तिले भरिएको थियो जहाँ उपस्थित सहभागीहरूले हिन्दू जीवन पद्धतिको बारेमा जानकारी हासिल गर्ने अबसर प्राप्त गरेको थिए ।
यस कार्यक्रमले हिन्दू जीवन दर्शनप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकताको सन्देशसमेत प्रवाह गरेको सहभागीहरूको धारणा थियो ।
तपाईको प्रतिक्रिया