इमरान खान, कपिलवस्तु । क्रिकेटर रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागत र सम्मान गरिएको छ ।
हालै मलेसियामा सम्पन्न एसिसि अन्डर–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागत गरिएको हो । उनले एकै इनिंगमा १६८ रन बनाएर रेकर्ड कायम गरी बेस्ट ब्याट्सम्यान र म्यान अफ द टुर्नामेन्ट समेत घोषित भएका थिए ।
सोमबार कपिलवस्तु आएका उनलाई मंगलबार जिल्ला क्रिकेट संघको अगुवाइमा बाजागाजासहित तौलिहवा बजारमा परिक्रममा गराई स्वागत र सम्मान गरिएको थियो । सदरमुकाम तौलिहवाको जमुहारदेखि प्रशासन चोक, गौढी भिक्षु चोक हुँदै होटेल तिलौराकोटसम्म ¥यालीसहित परिक्रममा गराइएको थियो ।
रौनकलाई भव्य कार्यक्रमका बिच लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेल प्रजिअ दिल कुमार तामाङ, जिल्ला प्रहरी प्रमुख निरन्जन दत्त भट्ट, क्रिकेट संघ जिल्ला अध्यक्ष प्रकाश गैरे, ब्याडमिन्टन संघका जिल्ला अध्यष दिनेश हमाल, युवा नेता लगायतले फुलमाला, अबिर खादा ओढाएर सम्मान पत्र सहित स्वागत र सम्मान गरेका थिए ।
सम्मान ग्रहण गर्दै रौनकले आफूलाई यो स्थान बुवा आमा, गुरुहरू, क्रिकेट संघका कारण हासिल गर्न सफल भएको बताए ।
उनले आफूलाई अहिले धरै राम्रो महसुस भएको बताए । उक्त समारोह बिच कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेलले फुलमाला अबिर खादा ओढाएर सम्मान पत्र सहित नगद रु ५१ हजार दिने घोषणा गरेका थिए ।
यस्तै नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले रु २५ हजार मूल्य बराबरको क्रिकेट ब्याट तथा संघको तर्फबाट नगद रु ११ हजार दिने घोषणा गरे । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले रौनकले उत्कृष्ट प्रदर्शन गरी खेल मार्रफत कपिलवस्तु जिल्लाका साथ साथै नेपाल देशकै नाम उच्च राख्न सफल भएको भन्दै बधाई दिएका छन् ।
उनले खेलका लागि समेत तिनै तहका सरकारले बजेट विनियोजन गर्नु पर्ने बताए । सो अवसरमा मेयर पौडेलले रौनकले उत्कृष्ट प्रदर्शन गरेर नेपाल र गृहजिल्ला कपिलवस्तुका लागि उदाउँदो तारा बनेको बताए । उनले रौनकको भविष्य उज्ज्वल रहेको र सम्हालेर प्रदर्शन गर्न उनले आग्रह गरे । प्रजिअ तामाङले नेपालको चिनारी सगरमाथा र बुद्ध मात्र नभई अब क्रिकेट खेल पनि रहेको बताए । उनले रौनकको प्रदर्शनले देश र विदेशमा समेत नाम कमाएको बताए ।
रौनकका गुरु बिवेक त्रिपाठीले रौनकको क्रिकेट राम्रो भविष्य देखेको बताए । उनले नेपाल समेत अहिले क्रिकेट खेलमा चम्किरहेको भन्दै क्रिकेटरलाई अवसर प्रशिक्षणको आवश्यक रहेको बताए । संघका पूर्व केन्द्रीय सचिव प्रशासन्त बिक्रम मल्लले रौनक क्रिकेटको हिरा भएको भन्दै प्रशंसा गरे । रौनकलाई थप परिक्षणका लागि आफुले पहल गर्ने उनले बताए ।
सो अवसरमा संघकी प्रदेश सदस्य तथा मेनजर माया ज्ञवालीलाई समेत संघको प्रदेश समितिले सम्मानित गरेको थियो ।
तपाईको प्रतिक्रिया