मटिहानीमा लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरतीको पाँचौ वार्षिक उत्सव तथा महाआरती कार्यक्रम सम्पन्न

समाचार

महोत्तरी । जिल्लाको मटिहानी–७ स्थित धार्मिक, ऐतिहासिक एवं पौराणिक लक्ष्मी सागरमा हुँदै आएको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरती चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा श्री लक्ष्मी सागर तथा आरती ब्याबस्थापन समिति मटिहानीले आयोजना गरेको पाँचौ वार्षिक विशेष उत्सव तथा महाआरती कार्यक्रम सम्पन्न भएको हो ।

श्री लक्ष्मी सागर तथा आरती ब्याबस्थापन समिति मटिहानीले आयोजना गरेको पाँचौ वार्षिक विशेष उत्सव तथा महाआरती कार्यक्रमको शुभारम्भ मधेश प्रदेश सभा सदस्य राम अशिष यादव, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संयुक्त रुपमा गर्नुभएको थियो ।

उक्त सप्ताहिक संध्या आरती वि.सं. २०७८ साल श्रावण ५ गते देखि प्रत्येक हप्ताको बिहीबारको दिन हुँदै आएको छ ।

उक्त वार्षिक उत्सवका विशिष्ट अतिथि मधेश प्रदेश सभा सदस्य राम अशिष यादवले महालक्ष्मी आरती एउटा शब्द मात्र नभई समग्र मटिहानी नगरपालिकाको समृद्धि विकास, उन्नति र प्रगतिको मन्त्र रहेको भन्दै पोखरी (सागर) मा आरती गर्नु भनेको जलको संरक्षण गर्नु हो भन्ने बिश्वास ब्यक्त गरेका छन् ।

त्यसै वार्षिक उत्सव समारोह एवं महाआरती कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले रामायणकालीन इतिहास बोकेको लक्ष्मी नारायण मठ र लक्ष्मी सागर भएको यस मटिहानी गाँउको अहिले बिश्वभरी चर्चाको बिषय भएको बिचार ब्यक्त गर्दै अहिले तराई लगायत देशभरि पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको भन्दै आजदेखि देशभरि अमृत वर्षा होस भन्ने प्राथना समेत गरे ।

त्यसैगरी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले यो आरतीले धार्मिक पर्यटकलाई आकर्षण गरी देश र मटिहानीको आर्थिक विकास गरी समग्र महोत्तरी जिल्ला र मटिहानीलाई राष्ट्रिय अन्तराष्ट्रीय जगतमा परिचय गराउने बिश्वाश ब्यक्त गरेका थिए ।

सो अवसरमा महाजात्रा समेत निकालिएको थियो उक्त जात्रा मटिहानीको बिभिन्न भागको परिक्रमा गरेको थियो ।

श्री लक्ष्मी सागर तथा आरती ब्याबस्थापन समितिका अध्यक्ष बरुण मंडलको अध्यक्षतामा सम्पन्न पाँचौ वार्षिक विशेष उत्सव तथा महाआरती कार्यक्रममा मधेश प्रदेश अर्थ मंत्रालयका उप–सचिव उपेन्द्र न्यौपाने, नेपाल प्रहरी महोत्तरीका एसपी हेरम्भ शर्मा, शसस्त्र प्रहरी नं.९ गण महोत्तरीका एसपी शेरबहादुर अधिकारी, लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जगरनाथ दास बैष्णब तथा उत्तराधिकारी महन्थ रबिन्द्र दास बैष्णब, मटिहानी नगरपालिकाका वड़ा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वड़ा सदस्यहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, गंगा सागर आरती जनकपुरका अध्यक्ष, बिभिन्न संघसंस्थाका प्रमुख वा प्रतिनिधिहरु लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ