सुक्खा संकट बेवास्ता भए, सामाजिक अस्थिरता र अर्थतन्त्रको विघटन सुनिश्चित : राजेन्द्र महतो

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले तराई–मधेश क्षेत्रमा तीव्र रूपमा फैलिरहेको सुक्खाग्रस्त अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई केवल प्राकृतिक विपत्ति नभई राज्य संरचनाको दीर्घकालीन उपेक्षा र शोषणको परिणाम भएको ठहर गरेको छ ।

रामुपाका अध्यक्ष राजेन्द्र महतोले एक प्रेस वक्तव्य जारी गर्दै भनेका छन्,, “हालका वर्षहरूमा लगातार घट्दो वर्षा, भूमिगत जलको पुनर्भरणको कमी, अव्यवस्थित सिँचाइ संरचना र चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारण तराई–मधेश अन्नहीन, जलहीन र भविष्यहीन हुँदै गएको छ। यो केवल पानीको संकट होइन, यो अस्तित्वकै संकट हो।”

वक्तव्यमा उल्लेख गरिएअनुसार, खेतबारी सुक्दै गएका छन्, पिउने पानीको हाहाकार छ, गाईबस्तुका लागि घाँस छैन, इनार–चापाकल सुक्दै गएका छन् र जनताले आकाश ताकेर आशा मात्र गरिरहेका छन्। यस्तो भयावह परिस्थितिमा पनि राज्य र सरकारले संवेदनशीलता नदेखाउनु दुःखद भएको पार्टीको टिप्पणी छ।

पार्टीले सुक्खा पीडित तराई–मधेशवासीको तत्काल राहत र दीर्घकालीन समाधानका लागि सरकारसँग पाँच बुँदे माग पनि अघि सारेको छः

पार्टीका मागहरूमा सुक्खा प्रभावित क्षेत्रलाई ‘राष्ट्रिय संकट’ घोषणा गर्दै तत्काल राहत (खाद्यान्न, पानी, चारा, औषधि) वितरण गरियोस्, किसानका कर्जा माफ गरिनुका साथै बीउ, मल, औजार निःशुल्क दिइने पुनःस्थापना योजना ल्याइयोस्, विद्युत आपूर्ति सुनिश्चित गरिनुका साथै कृषि विद्युत र खानेपानी सम्बन्धी उपकरण भन्सार शुल्कमुक्त गरियोस्, राहत वितरणलाई राजनीतिक नबनाई मानवीय संकटको रूपमा सम्बोधन गरियोस्, चुरे संरक्षण, जल–स्रोत व्यवस्थापन र जलवायु–अनुकूल कृषि नीतिमा ठोस नीति परिवर्तन ल्याइयोस् ।

राष्ट्रिय मुक्ति पार्टीले चेतावनी दिँदै भनेको छ, “यदि यो संकटलाई बेवास्ता गरियो भने सामाजिक अस्थिरता, जनआक्रोश र राष्ट्रिय अर्थतन्त्रको विघटनतर्फ देश अघि बढ्न सक्छ।” यो संकटको मूल कारण शासनको असंवेदनशीलता हो, जसलाई अब तुरुन्त अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने समय आएको पार्टीका नेता सन्तोष मेहताले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ