जनकपुरधाम । सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित मधेश प्रदेश सरकारले ऐतिहासिक कदम चाल्दै घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम साउन १ गतेदेखि औपचारिक रूपमा लागू गरेको छ।
पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकहरू बीमाको दायरामा ल्याइएको छ। यस कार्यक्रम अन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा व्यवस्था गरिएको छ, जुन प्रदेश सरकारको सामाजिक सुरक्षा नीतिमा ठूलो उपलब्धि हो ।
मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारद्वारा अगाडि सारिएको यो बीमा योजना आम नागरिक र सिमान्तकृत वर्गलाई प्राकृतिक विपद्, दुर्घटना तथा आकस्मिक मृत्युजस्ता घटनाबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो।
घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी–हुरी अन्य आपतकालीन घटनामा हुने क्षतिको क्षतिपूर्ति दिइनेछ। नागरिक वीमा १० लाख सम्मको गरिएको छ भने घरधुरी वीमा ५ लाख रुपैया सम्मको गरिएको छ ।
नागरिक बीमा अन्तर्गत भने आकस्मिक मृत्यु, शारीरिक अपांगता, दुर्घटना जन्य घाइते समेत समेटिएको छ।
बीमा दाबीका लागि साक्ष्यसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको रिपोर्ट , स्थानीय पालिकाको सिफारिस र प्रदेशको नागरिक भएको प्रमाण आवश्यक पर्नेछ। यसरी पारदर्शी र सहज कार्यविधिमार्फत पीडितले राहत प्राप्त गर्न सक्ने सरकारको दाबी छ।
यो सामाजिक न्याय र नागरिकको सुरक्षित भविष्य प्रदेश सरकारको प्राथमिकता हो। बीमा कार्यक्रम केवल सहानुभूति होइन, नागरिक प्रतिको राज्यको दायित्व र जिम्मेवारी पनि हो।
मधेश प्रदेशले पहिलो पटक यस्तो व्यापक बीमा कार्यक्रम लागू गरेकोले यसबाट दिगो सामाजिक सुरक्षा प्रणाली निर्माणमा टेवा पुग्ने विश्वास सरकारको छ । नागरिक वीमा र घरधुरी वीमावाट सुविधा लिन प्रदेशका नागरिक संग सरकारले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया