धरानको भानुचोकमा निःशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविर सम्पन्न, २०० भन्दा बढीले सेवा लिए

समाचार

धरान । डायबेटिज विद्यार्थी समूह, बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, नेपाल अग्रवाल सभा, धरान र नेपाल अग्रवाल महिला मञ्च, धरान को संयुक्त आयोजनामा शनिबार धरान–२, भानुचोकमा सम्पन्न “निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श शिविर” मा २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरमा बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरानका एसोसिएट प्रोफेसर डा. अरुणकुमार सिंह र
डायबेटिज टाइप–१ विद्यार्थी समूहका सदस्यहरूको सक्रिय सहभागितामा मधुमेह परीक्षण, रक्तचाप जाँच, जीवनशैली तथा खानपान सम्बन्धी परामर्श र मधुमेहसम्बन्धी जनचेतनामूलक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय रमेश बस्नेत ज्यू रहनुभएको थियो।

विशेष अतिथिहरूमा धरान उपमहानगरपालिकाका उप–मेयर श्री ऐन्द्र विक्रम बेघा, धरान–२ का वडा अध्यक्ष श्री रमेश कुमार राई,श्री सुनिल कुमार अग्रवाल (बन्टी),श्रीमती इन्दु तोदी,श्रीमती लता अग्रवाल,श्री पितरुमल अग्रवाल,श्री शिवेन्द्र कुर्मी,तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वरिष्ठ प्राध्यापक प्रा. डा. सुधा अग्रवाल , बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) विद्यार्थी कल्याण समाजका अध्यक्ष नब राज दास लगायत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य नेपाल अग्रवाल महिला मञ्चकी केन्द्रीय संयोजक श्रीमती इन्दु तोदीले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नेपाल अग्रवाल सभाका सचिव श्री विवेक अग्रवालले गर्नुभएको थियो।

डा. अरुणकुमार सिंहले मधुमेहको प्रारम्भिक पहिचान, नियन्त्रणका उपायहरू, सन्तुलित आहार, नियमित व्यायाम, औषधि सेवन तथा जीवनशैली सुधारबारे जानकारी गराउनुका साथै सर्वसाधारणलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्नुभयो।

शिविरमार्फत मधुमेहजस्ता दीर्घरोगबारे समुदायमा सचेतना फैलाउन र समयमै रोगको पहिचान गर्न महत्त्वपूर्ण योगदान पुगेको आयोजकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ