कैलाली कारागार घटनाप्रति दुःख व्यक्त गर्दै रामुपाले माग्यो गृहमन्त्रीको राजीनामा

समाचार

काठमाडौं । गत शुक्रबार राति कैलाली कारागारभित्र कैदीबन्दीहरुको दुई समूहबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले गृहमन्त्रीको राजीनामा मागेको छ ।

सो हिंसात्मक झडपमा भरत चौधरीको मृत्यु र ४८ जना कैदीबन्दी घाइते भएका छन् । कारागार प्रशासनको गम्भीर सुरक्षा लापरवाही र राज्यको उदासीनताले एउटा जीवन समयअगावै समाप्त भएको रामुपाको ठहर छ । 

रामुपाका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी राज्यको सुरक्षा नियन्त्रण भित्र यसरी मृत्यु हुनु सामान्य घटना रहेको भन्दै सुरक्षा संयन्त्रको नियन्त्रणमा पनि नागरिक सुरक्षित नहुने अवस्था गृह प्रशासनको चरम लापरवाहीको रुपमा लिएका जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘हामी यो घटनालाई केवल “अचानक भएको झडप” भनेर लुकाउन खोज्ने प्रयासलाई अस्वीकार गर्छौं । ५९० भन्दा बढी कैदीबन्दीको हस्ताक्षरसहित कारागारभित्रको सुरक्षा अभाव र तनावबारे राज्य पक्षलाई अग्रिम जानकारी दिइएको थियो, तर आवश्यक सतर्कता, व्यवस्थापन र सुरक्षाको कदम चालिएन।यसको सम्पूर्ण जिमेवारी गृह प्रशासनले लिनुपर्नेछ । उपरोक्त घटना स्पष्ट प्रमाण हो, कि यो केवल दुर्भाग्य होइन, बरु गम्भीर लापरवाही र संवेदनहीनताको परिणाम हो ।’

राष्ट्रिय मुक्ति पार्टी नेपाल यस घटनाप्रति आफ्नो गहिरो शोक, आक्रोश र संवेदना व्यक्त गर्दैः

– तत्काल स्वतन्त्र तथा निष्पक्ष छानबिन आयोग गठन गरी घटनाका सम्पूर्ण कारण, पृष्ठभूमि र दोषीहरूको पहिचान गरियोस् ।

– दोषीलाई कुनै राजनीतिक या प्रशासनिक संरक्षण बिना कानूनी कारबाहीको दायरामा ल्याइयोस् ।

– घाइते कैदीबन्दीहरूको तत्काल उपचार, पुनःस्थापना र स्वास्थ्य सुरक्षा सुनिश्चित गरियोस् ।

– देशभरका कारागारहरूमा सुरक्षा, स्वास्थ्य र मानवअधिकार मापदण्डअनुसारको सुधार तत्काल सुरु गरियोस् ।

– मृतक भरत चौधरीका परिवारलाई उचित राहत र दीर्घकालीन न्यायको पूर्ण सुनिश्चितता गरियोस् ।

– सुरक्षा संयन्त्र गम्भीर रुपले असफल भएकोले गृह प्रशासनको प्रमुखको हैसियतले सम्पूर्ण घटनाको जिम्मा लिदै  नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा गरियोस् ।  

मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै रामुपाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै नागरिकको सुरक्षा एवं न्याय प्राप्तिको लडाईमा एक्यबद्धता जनाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ