मुख्यमन्त्री सिंहद्वारा पुरानो चमेना गृह भवनको उद्घाटन

समाचार

राकेश यादव, रौतहट । मधेश प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रादेशिक अस्पताल गौरको परिसरमा सञ्चालनमा रहेका १ वर्ष पुरानो चमेना गृह क्यान्टिनको उद्घाटन गरेका छन् ।

२०८१ सालमा निर्माण भई ठेक्कामा गएको जेष्ठ महिनासम्म सञ्चालन भएको चमेना गृहको मुख्यमन्त्री सतीश कुमार सिंहले उद्घाटन गरेका हुन् ।

३० हजार प्रति महिना रकम बुझाउने भनी २०८१ साउनदेखि ठेक्कामा सञ्चालन गरिएका चमेना गृह प्रादेशिक अस्पताल गौरमा उपचार गराउन आएका जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ का वडा अध्यक्ष सीताराम यादवलाई क्यान्टिन संचालकका कर्मचारीले बासी भात दिएपछि उत्पन्न भएको विबादका कारण अस्पताल प्रशासनले चमेना गृहमा ताला लगाएर बन्द गराएको थियो ।

पहिला दिएको ठेक्का रद्द गरी प्रादेशिक अस्पताल गौरले दोस्रो पटकको ठेक्का स्वीकृत गरी सकिएको बुझिएको छ ।

अस्पतालको परिसरमा दक्षिणतर्फ रहेको पुरानो घरलाई मर्मत सम्भार गरी बनाइएको एमसीएच क्लिनिकलाई पनि मुख्यमन्त्री सिंह र स्वास्थ्यमन्त्री शत्रुधन प्रसाद सिंहले उद्घाटन गरेका हुन् । एक वर्ष पहिला निर्माण भई सञ्चालन भइसकेका चमेना गृहको वालमा आफ्नो नामको शिलालेख राख्नको लागि मुख्यमन्त्री उद्घाटन गरेको भनी आलोचना समेत हुन थालेका छन् ।

प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मो. अनवर हासमीले आफ्नो पदावधि बढाउने उद्देश्यले यस्तो कार्य गरेको भनी स्थानीयहरुले टिपण्णी गरिरहेका छन् ।

जनता समाजवादी पार्टी नेपालको सरकार हुँदा जसपाका पूर्व प्रदेश सांसद रामकिशोर यादवको सहयोगमा व्यवस्थापन समितिका जिम्मेवारी पाएका हासमीले वर्तमान अवस्थामा नेकपा एमालेको नेतासँग सहकार्य गरी दोस्रो कार्यकालका लागि पहल गरिरहेको बुझिएको छ ।

हासमीको अवधि भदौ १५ गते सकिदैछ । आफ्नो पद जोगाउन जनता समाजवादी पार्टीसँग अनौपचारिक रुपमा टाढा भएका हासमी अहिले एमालेका नेताको शरणमा पुगेका छन् । समाचार स्रोतका अनुसार अवधि थप गर्नको लागि ठूलो रकमको चलखेल गरिएको बजारमा हल्ला चालेको छ ।

गौर प्रादेशिक अस्पतालको अध्यक्षमा अनवर हासमी आएदेखि सरसफाईमा सुधार भएपनि आर्थिक पारदर्शितामा पटक–पटक विवाद हुँदै आएको छ । कर्मचारीको नियुक्ति, आन्तरिक आय र व्ययको विषयमा हासमी उपर अनियमितताको आरोप लाग्दै आएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ