काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेका अनिल झाले आफ्नै नेतृत्वमा नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका छन् ।
बिहीबार काठमाडौँस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गरी नेसपा पुनर्गठन गरेको जानकारी दिएका छन् । निर्वाचन आयोगको आफूलाई मान्यतासमेत दिइसकेको बताउँदै उनले पार्टीभित्र रहेका केही असन्तुष्ट नेताहरुलाई पनि समाहित गर्ने बताए ।
गत वर्ष नेसपाको जनकपुरधाम र वीरगन्जमा एकै दिन महाधिवेशन भएको थियो । निर्वाचन आयोगले जनकपुरधाममा भएको महाधिवेशनलाई मान्यता दिएको थियो ।
पत्रकार सम्मेलनमा उनले प्रतिबद्धताहरुसमेत सार्वजनिक गरेका थिए । महिला, दलित, मुस्लिम, पिछडावर्ग सहित पहाड तथा तराईका अल्पसंख्यक आफ्नै देशभित्र सदियौँदेखि दमन, उत्पीडन, अन्याय, अत्याचारमा परेको भन्दै उनीहरूको सम्मानपूर्ण नागरिक हक, पहिचान, पहुँच, प्रतिनिधित्व, प्राकृतिक स्रोत एवं राजस्वको बाँडफाँटमा समान अधिकारका लागि संघर्षरत रहने प्रतिबद्धता पनि नेपाल सद्भावना पार्टीले व्यक्त गरेको छ ।
‘एकीकृत नेपालभित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेसी समुदाय’ भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागि संघर्षरत रहने प्रतिबद्धता पनि सो पार्टीले जनाएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट राजनीतिक, आर्थिक, सामाजिक, भाषिक सांस्कृतिक, लैंगिक, क्षेत्रीय, जातीय एवं सामुदायिक विभेद अन्त्य एवं प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रताको प्रत्याभूतिका लागि संघर्षरत रहने प्रतिबद्धता समेत नेपाल सद्भावना पार्टीले जनाएको छ ।
व्यावहारिक प्रतिबद्धता अन्तर्गत मधेशमा खानेपानी संकटको दीर्घकालीन समाधान, मधेसको उर्वर माटोको क्षयीकरण रोक्न, उन्नत कृषि प्रणालीे स्थापना, स्वरोजगार प्रवद्र्धनका समाधानमुखी प्रयासमा ध्यानाकर्षण गराएको छ ।
‘यो पार्टी आफ्नो ऐतिहासिक आदर्श र सिद्धान्तप्रति अडिग रहँदै लोकतन्त्र र समानताको पक्षमा निरन्तर संघर्षरत रहनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया