बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिकालाई ग्लुकोमिटर वितरण

समाचार

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरानको बालरोग विभागअन्तर्गत सञ्चालित डायबिटीज क्लिनिकमा आज दर्ता भएका बालबालिकालाई ग्लुकोमिटर वितरण गरिएको छ । हालसम्म क्लिनिकमा टाइप–१ मधुमेह (Diabetes) भएका १०५ जना बालबालिका दर्ता भइसकेका छन् भने अन्य बालबालिकाहरूले पनि यस क्लिनिकबाट नियमित रूपमा सेवा लिइरहेका छन् ।

कार्यक्रममा डा. अरुण कुमार सिंहले टाइप–१ मधुमेहसहित सम्पूर्ण मधुमेहको परिभाषा, कारण, लक्षण तथा व्यवस्थापनका विषयमा छोटकरीमा प्रकाश पार्दै भन्नुभयो—
• मधुमेह शरीरमा इन्सुलिनको कमी वा प्रभावकारितामा समस्या आउँदा हुने रोग हो ।
• टाइप–१ मधुमेह प्रायः बालबालिकामा देखिन्छ, जसमा शरीरले इन्सुलिन उत्पादन नै गर्न सक्दैन ।
• यसका लक्षणहरूमा अत्यधिक प्यास लाग्ने, बारम्बार पिसाब लाग्ने, अस्वाभाविक तौल घट्ने र निरन्तर थकान हुने समावेश हुन्छन् ।
• नियमित इन्सुलिन प्रयोग, स्वस्थ आहार, व्यायाम र रक्तमा सुगर स्तरको निगरानी नै यसको प्रमुख व्यवस्थापनका उपाय हुन् ।

कार्यक्रममा डा. सगुन खनाल, डा. निरोज कर्ण, डा. अलीना, डा. विष्णु मल्ल र शिवेन्द्र कुर्मीको सक्रिय उपस्थिति थियो ।

बालरोग विभागले सञ्चालन गर्दै आएको यस डायबिटीज क्लिनिकमार्फत हरेक बुधबार दिउँसो २ बजेपछि बिरामीहरूलाई निःशुल्क इन्सुलिन र अन्य आवश्यक सामग्री वितरण गरिँदै आएको छ ।

यस अवसरमा प्रा. डा. निशा केसरी भट्ट, प्रा. डा. गौरीशंकर शाह तथा सम्पूर्ण बालरोग विभाग, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ