जनकपुरधाम । मलेसिया भ्रमणमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमणपछि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने निर्देशन दिएका छन् ।
संक्रमण नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालय तथा स्थानीय स्वास्थ्य कार्यालयहरूलाई सक्रिय रूपमा काम गर्न उनले आग्रह गरेका हुन् ।
साथै वीरगंजस्थित नारायणी अस्पतालसहित अन्य सबै अस्पताललाई संक्रमित बिरामीको उपचारमा सक्रिय रहन निर्देशनको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्रीले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउन र थप फैलिन नदिन स्वास्थ्य तथा प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई पनि परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।
उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई विशेष जिम्मेवारीसहित वीरगंज पठाइएको प्रदेश सरकारले जनाएको छ।
तपाईको प्रतिक्रिया