विवादित भूमि विधेयक विरुद्ध जसपा नेपालले देशब्यापी विरोध प्रदर्शन गर्ने

समाचार

काठमाडौं । विवादित भूमि विधेयकको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशव्यापीरुपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

जसपा नेपालको केन्द्रीय सचिवालयको बैठकले भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न शहरहरुमा व्यापक विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई/मधेश मरुभूमिकरण हुनेगरी सरकारले ल्याउन लागेको भूमि सम्बन्धि विधेयकको जसपा नेपाल सुरुदेखिनै विपक्षमा रही विरोध गर्दै आइरहेको छ ।

विरोध गर्दागर्दै पनि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट २०८२ भाद्र ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न विरोध प्रदर्शन गर्न लागेको जसपा नेपालका महासचिव लालबाबु राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासचिव राउतले विज्ञप्तिमा भनेका छन्, ‘तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न “ भूमि र वन बचाउँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँ ” अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न शहरहरुमा ब्यापक विरोध प्रदर्शनमा सहभागी भई सहयोग गर्नुहुन जनता समाजवादी पार्टी, नेपाल सम्पूर्ण आमजनसमुदायमा हार्दिक अपील गर्दछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ