मो. इसराफिल राइन, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले छात्राहरुलाई उच्च शिक्षामा पहुँच बढाउन साइकल वितरण गरेको छ ।
मटिहानी नगरपालिका अन्तर्गतका श्री राम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालजले एक कार्यक्रमबीच सो साइकल वितरण गरेका हुन् ।
उक्त साइकल वितरण गर्दै नगर प्रमुख मण्डलले पालिकाले विगत ७ वर्षदेखि साइकल वितरण गर्दै आएको र यसले मटिहानी र यस बाहेकको पालिका र गाँउबाट यहाँ पढ्न आउने विद्यार्थीहरुलाई पढ्न आवतजावत गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले साइकलले विद्यार्थीको भावनात्मक विकासको सँगसँगै पढ्न आउन सहयोग पुग्ने भन्दै पालिकाले शिक्षा क्षेत्रमा गरिने साइकल वितरण र ल्यापटाप वितरण लगायतका सराहनीय कामहरुको प्रशंसा समेत गरे ।
उक्त विद्यालयको कक्षा ११ मा अध्ययनरत ५८ जना छात्रालाई सो साइकल वितरण गरिएको कुरा प्राध्यानाध्यपक श्रीश कुमार मिश्राले बताए ।
उक्त साइकल वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्भ शर्मा, वडा नं.६ र ८ का वडा अध्यक्षहरु, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय पवन साह र अजय कुमार साह, या.ल.ना. विद्यापीठ मटिहानीका प्राचार्य हेम नारायण कर्ण, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, रा.स.मा.वि. का प्र.अ. ईश्वरी पौडेल, शिक्षक शिक्षिका लगायत अभिभावक विद्यार्थी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
उक्त विद्यालयमा मटिहानी, सिमरदही, बहुरवा, सुगा, पर्सा पतैली, सिरसिया, धिरापुर र धनुषा जिल्लाका तुल्सियाही मुखियापट्टी, मुसरनिया लगायतका क्षेत्रका छात्र–छात्राहरु अध्ययनरत रहेका छन् ।
तपाईको प्रतिक्रिया