काठमाडौं । शान्ति, करुणा र मानवताको सन्देश वाहक हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्म दिवस ईद–ए–मिलादुन्नबी देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।
यस अवसरमा नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वगृह राज्यमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद रिजवान अन्सारीको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमार्फत उनले देशभरि र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
विज्ञप्तिमा हजरत मुहम्मद (स.अ.व.) को जीवन र शिक्षालाई स्मरण गर्दै भनेका छन्, “सबैभन्दा उत्तम मानिस त्यो हो जसले अरूलाई सबैभन्दा बढी फाइदा पुर्याउँछ । तिमीमध्ये कोही पूर्ण ईमानदार तबसम्म हुँदैन, जबसम्म ऊ आफ्ना भाइका लागि पनि त्यही कुरा चाहँदैन जुन आफैंका लागि चाहन्छ । साँचो मुसलमान त्यो हो जसको मुख र हातबाट अरू मानिस सुरक्षित हुन्छन्।”
यी अमर वचनहरूले आज पनि मानव जातिलाई प्रेम, सहिष्णुता, भ्रातृत्व र समानताको बाटो देखाइरहेको सन्देशमा उल्लेख गरिएको छ ।
अध्यक्ष अन्सारीले ईद–ए–मिलादुन्नबीलाई केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता, करुणा र आपसी सद्भाव फैलाउने माध्यमको रूपमा लिनुपर्नेमा जोड दिएका छन् । साथै, उनले सबै नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई शान्ति, सद्भाव र भ्रातृत्वको भावना बोकेर अघि बढ्न आह्वान गरेका छन् ।
तपाईको प्रतिक्रिया