जेनजी आन्दोलनको मौका छोपी आगजनी तथा तोडफोड गर्नेलाई कारबाही गर्न अल्टिमेटम

समाचार

नवलपरासी । जेनजी आन्दोलनको मौका छोपेर पश्चिम् नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही गर्न नवलपरासीका जनप्रतिनिधिहरूले ७ दिने अल्टिमेटम दिएका छन् ।

पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएको जानकारी दिएका हुन् ।

लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवारले आफ्नो घर जलाउनु पूर्व घरभित्र छिरेर लुटपाट गरिएको तत पश्चात् आगजनी गरेको बताए ।

पूर्व मन्त्री हृद्येश त्रिपाठीले घटनामा राजनीतिक कार्यकर्ताहरू भएको भए राजनीतिक रूपमै निकास गर्नुपर्ने थियो तर घटनामा संलग्नहरू विशुद्ध अपराधीक क्रियाकलापमा संलग्न भएकाले प्रशासनले चाँडो निष्कर्ष निकालेर कारबाहीको दायरामा ल्याइनुपर्ने बताए ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आगजनी र तोडफोडमा संलग्नहरू तस्करी र अपराधीक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरू भएको बताए । प्रशासनले एक हप्ताभित्र कानुनी कारबाही नगरे आफूहरूले फरक कदम चाल्ने समेत चेतावनी दिए ।

पश्चिम् नवलपरासीमा भएका सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन जनप्रतिनिधि र राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ