चुनावी तयारीमा लाग्न जनमत पार्टीको निर्देशन

समाचार

काठमाडौं । जनमत पार्टीको असहमति भए पनि प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा जनमत पार्टीले निर्वाचनको तयारी शुरू गरेको छ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण संरचनालाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन्।

फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएपछि जनमत पार्टी सक्रिय बनेको हो। यद्यपि पार्टीले आधिकारिक रूपमा चुनावमा जाने निर्णय नगरे पनि अध्यक्ष राउतले केन्द्रीय कार्यकारिणी, केन्द्रीय सदस्य, संघीय परिषद, प्रदेश समिति लगायत सबै जिल्ला इन्चार्जलाई संगठन परिचालन गरी तयारी थाल्न प्रशिक्षण दिएका छन्।

राउतले भने, “चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन। अब हामी चुनावमा केन्द्रित भई संगठन परिचालन गर्नुपर्छ।”

उनले जेन–जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै बदलिँदो परिस्थितिअनुसार संगठन सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। हरेक राजनीतिक संकटको समाधान चुनावबाट मात्रै सम्भव हुने जनमत पार्टीको ठहर छ।

जनमतले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा चुनावमार्फत मात्र सम्भव हुने भन्दै गृहकार्य सुरु गरिसकेको छ। यसैबीच अब बस्ने पार्टी केन्द्रीय कार्यकारिणी बैठकले चुनावमा जाने बारे औपचारिक निर्णय गर्ने तयारी गरेको छ।

राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहाले भने, “चुनाव घोषणा भइसकेको अवस्थामा तयारी थाल्ने कुरा भएको छ। संघीयता पक्षधर आठ दलसँग संसद् पुनःस्थापनाको माग गरिए पनि चुनावमा जानुको विकल्प छैन।”

कुशवाहाले चुनावी सरकारलाई सघाउने प्रतिबद्धता जनाउँदै निष्पक्ष चुनावी वातावरण बनाउन अन्तरिम सरकारलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ