काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । मोर्चाको केन्द्रीय सचिवालयको बिहीबार डा.शिवजी यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
२०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबर्जस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भयो र आन्दोलनको मर्म र भावना विपरीत अपुर्ण र अधुरो संविधान जारी गरिएको डा.यादवले विज्ञप्तिमा भनेका छन् ।
‘त्यस दिनदेखि नै प्रत्येक वर्ष हामीले सहिदको सम्झनामा र संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरि असोज तीन कालो दिनामा विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि प्रदर्शन गर्दै आएकोमा यस वर्ष पनि संविधान दिवसलाई संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट सामुहिक रुपमै कालोपट्टी बाँधी विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि असोज तीन कालो दिनमा प्रदर्शन गर्ने निर्णय गरियो।’ विज्ञप्तिमा भनिएको छ ।
संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध विभिन्न घटकदलहरु विगत लामो समयदेखि उत्पीडन र विभेदको विरुद्धमा अधिकार, पहिचान, समानुपातिक समावेशीता र स्वायत्त शासनको निम्ति तथा सुशासनको लागि र भ्रस्टाचारको विरुद्धमा संघर्ष गर्दै आएको छ । तसर्थ जेनजी पुस्ताले २०८२ भाद्र २३ र २४ गते भ्रष्टाचार र कुशासनको विरुद्धमा तथा सामाजिक सञ्जाल प्रतिवन्ध खुलाउन दवाव स्वरुप गरेको आन्दोलनको पक्षमा मोर्चा रहेकोले सोही भावना अनुरुप अहिलेको सरकारले काम गर्नुपर्ने मोर्चाको धारणा रहेको निर्णय गरिएको छ ।
साथै जेनजी आन्दोलनको बलमा बनेको सरकारले देशको विविधता र समानुपातिक समावेशी तहत राज्यको हरेक अंग र क्षेत्रमा प्रतिनिधित्व गरिनु पर्ने निर्णय गरेको छ । साथै कुनै पनि आन्दोलनको नाममा लामो संघर्ष र सहादत पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र मौलिक अधिकार लगायत जनताको अग्रगामी अधिकारलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्रहरु स्वीकार गर्न नसकिने समेत निर्णय गरेको हो ।
जेनजीद्वारा गरिएको आन्दोलनमा अराजक तत्वहरु घुसपैठ गरि विभिन्न राजनीतिक दलको कार्यालय, लोकतन्त्रका प्रमुख आधारहरु राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाका भवनहरु, सरकारी, सार्वजनिक तथा नीजी भवनहरु, मोर्चाका नेताहरु राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्र नाथ शुक्ला, शरतसिंह भण्डारी, निर्जला राउत, मो. लालबाबु राउतको घर फ्याक्ट्रीमा तोडफोड तथा आगजनी एवं व्यवसायीहरु डा. उपेन्द्र महतो, विनोद चौधरी, वसन्त चौधरी, मिन बहादुर गुरुङ( भाटभटेनी सुपरमार्केट), गोल्यान हाउस, गोल्छा हाउस लगायत आम जनताको घर, पसल, फ्याक्ट्री लगायतमा क्षति पुर्याएकोले दोषीहरुको छानबिन गरि कडा भन्दा कडा कार्यवाही गर्न र भए गरेका क्षतिहरुको यकिन गरि क्षतिपूर्ति दिन सरकारलाई आग्रह मोर्चाले गरेको छ ।
तपाईको प्रतिक्रिया