राजेन्द्र महतोको सार्वजनिक अपिल, ‘नवीन नेपाल निर्माणका निम्ति निर्णायक कदम चालौं’

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले नवीन नेपाल निर्माणका निम्ति निर्णायक कदम चाल्न सार्वजनिक अपिल गरेका छन् ।

बिहीबार अध्यक्ष महतोले सार्वजनिक अपिल गर्दै दर्जनौं शहादत, हजारौं घाइते र असीम धनजनको क्षतिको मूल्यमा शुरु भएको यो क्रान्ति नेपाललाई नयाँ जीवन दिने ऐतिहासिक अवसर रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘औपनिवेशिक मानसिकतामा बनेको यो सातौं संविधान पनि विगतको छौ वटा संविधान असफल भए जस्तै यो संविधान पनि कुनै दिन असफल भयो भन्ने आश्चर्य मान्नु पर्दैन । यस असोज ३ गतेलाई प्रतीकात्मक रूपमा विभेद र असमानताको अन्त्यको अठोट गर्ने अवसरको रूपमा मनाऔं । असोज तिन कालो दिन १० बर्ष देखि भन्दै आएका छौं, यो वर्ष अन्तिम होस्।’

राजेन्द्र महतोको सार्वजनिक अपिल जस्ताको तस्तैः

सार्वजनिक अपिल !
नवीन नेपाल निर्माणका निम्ति निर्णायक कदम चालौं !!
प्रिय जनसमुदाय, आदरणीय अभिभावकवृन्द, साहसी जेन-जी (Gen Z) पुस्ता,
यो अपिल म कुनै दलको हैसियतले मात्र होइन, एक नागरिक, एक सहयात्री र तपाईंहरूकै आवाजका रूपमा प्रस्तुत गर्दैछु। आज हाम्रो देश गहिरो संवैधानिक, आर्थिक र सांस्कृतिक संकटको दोबाटोमा उभिएको छ । तपाईंहरूले बगाएको रगत र बलिदान केवल आन्दोलनको इतिहास होइन - यो नयाँ नेपालको पीडा हो। दर्जनौं शहादत, हजारौं घाइते र असीम धनजनको क्षतिको मूल्यमा शुरु भएको यो क्रान्ति नेपाललाई नयाँ जीवन दिने ऐतिहासिक अवसर हो ।
हामीले दशकौँदेखि भनिरहेका थियौं- यो संविधान अपूर्ण छ, पूर्ण गरौं, विभेदकारी छ, विभेदको अन्त्य गरौं, अन्यायको जगमा बनेको छ, यसले सबै नेपालीको अधिकार र स्वाभिमानलाई रक्षा गर्न सक्दैन। यसो भनिरहदा हामीलाई उपहास गरियो, गाली गरियो, नेपाली एकतामा समेत खलल पुग्ने गरी सम्पूर्ण मधेशीलाइ विदेशी झैं स्थापित गर्ने प्रयास गरियो, असान्दर्भिक ठहराउन अनेक प्रपन्च रचियो, उत्पीडित राष्ट्रका जनताहरुलाई अनागरिक सरह व्यवहार गरियो, तर सत्यलाई दबाइरहन सकिएन। संबिधानलाई कठोर बनाउदा नै आज ठ्याक्कै १० वर्षमा यो संविधान स्वयं जीवन-रक्षाको लागि भेन्टिलेटरमा पुगेको छ । अझै पनि यसलाई यथास्थितिमा जोगाउने षडयन्त्र भइरहेको छ, तर यसो गर्दा संविधान निर्माण ताका भएको ६ महिने लामो मधेश आन्दोलन एवं सयौं बलिदानीको मात्र होइन कि विगतका आदिवासी जनजाती आन्दोलन, थरुहट आन्दोलन, लिम्बुवान आन्दोलन लगायत सम्पूर्ण उत्पीडित समुदाय, वर्ग, लिंग तथा जेन-जी क्रान्तिको बलिदानमाथि समेत ठूलो अपराध र प्रतिगमन हुनेछ । संविधान दिवसलाई उत्सवजस्तै बनाउनु वीर शहिदको रगतमाथि ठट्टा गर्नु हो, त्यसैले यसको प्रतीकात्मक प्रतिरोध जरुरी छ ।
प्रिय साथीहरू,
हामी स्पष्ट छौं - यो अवसर केवल सत्ता परिवर्तनको लागि होइन, सम्पूर्ण संरचनागत रूपान्तरणको लागि हो । अब पुरानो भ्रष्ट र अन्यायी प्रणालीलाई पूर्ण रूपमा उन्मूलन गर्नुपर्छ । केवल कुर्सी परिवर्तन गर्ने खेलले सुशासन, सद्भाव र समृद्धि आउँदैन। हामीलाई आवश्यक छ संविधानको पुनर्लेखन गरी साझाँ संविधानको, नयाँ राजनीतिक चेतना अर्थात स्वदेशी चेतना र नयाँ राष्ट्रिय दृष्टिकोण अर्थात बहुलराष्ट्रिय दृष्टिकोणको । अहिले अन्तरिम सरकार गठन भइसकेको छ र ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचनको तयारी भइरहेको छ। तर निर्वाचन केवल मिति तोकेर सम्पन्न गर्नु मात्र होइन, यसपटक न्यायपूर्ण निर्वाचन प्रणाली, पारदर्शी कानुनी सुधार र सबैलाई समान अवसर दिने संवैधानिक ढाँचा तयार हुनुपर्छ।
हामी भन्छौँ - औपनिवेशिक मानसिकतामा बनेको यो सातौं संविधान पनि विगतको छौ वटा संविधान असफल भए जस्तै यो संविधान पनि कुनै दिन असफल भयो भन्ने आश्चर्य मान्नु पर्दैन । यस असोज ३ गतेलाई प्रतीकात्मक रूपमा विभेद र असमानताको अन्त्यको अठोट गर्ने अवसरको रूपमा मनाऔं । असोज तिन कालो दिन १० बर्ष देखि भन्दै आएका छौं, यो वर्ष अन्तिम होस्। हामी सबै मिलेर यो दिनलाई साझा अधिकार, समानुपातिक समावेशी सहभागिता र स्वाभिमानी पहिचानमा आधारित नयाँ नेपालको शिलान्यास गर्ने दिन बनाऔं। यो अवसर हाम्रो पुस्ताको उत्तरदायित्व मात्र होइन, भविष्यका पुस्ताको जीवन सुरक्षित गर्ने ऐतिहासिक क्षणका रूपमा दर्ज हुने दिन हो। विदेशीएका लाखौं युवालाई फर्काउने, राज्य र समुदायबीचको सम्बन्ध पुनःस्थापन गर्ने, नेपाललाई गरिबीको दलदलबाट निकाल्ने यो सुनौलो अवसर हो । आउनुस्, असोज ३ गते यस रक्तरंजित संविधानलाई पुनर्लेखन गरेर साझा नेपाल, स्वाभिमानी नेपाल र समृद्ध नेपालको यात्रा शुरु गरौं।
बनाऔं नेपाल सबै नेपालीका लागि ! जय मातृभूमि !
मितिः २०८२/०६/०२
.......................................
राजेन्द्र महतो

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ