जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका शहीद परिवारलाई मधेश सरकारले साढे दुई लाख दिने

समाचार

जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका मधेश प्रदेशका शहीद परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा सहादत प्राप्त गरेका मधेश प्रदेशमा स्थायी बसोबास रहेका शहीदका परिवारलाई थप राहतस्वरूप प्रति परिवार दुई लाख पचास हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरुप्रति मधेश प्रदेश सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

आन्दोलनका क्रममा घाइते भएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको प्रभावकारी उपचार प्रबन्ध मिलाउनुपर्ने, प्रदर्शनका क्रममा भएको अकल्पनीय भौतिक र मानवीय क्षतिप्रति दुःख प्रकट गरेको छ ।

जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने माग गरेको छ ।

जेनजी पुस्ताले अघि सारेका मागहरूको समाधान वर्तमान संविधानकै दायरा भित्र रहेर खोजिनुपर्ने मधेश सरकारको धारणा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ