मधेश प्रदेशसभामा बिमला अन्सारीद्वारा जेनजी आन्दोलनप्रति समर्थन

समाचार

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष, मधेस प्रदेश सभा सदस्य, संसदीय दलकी नेत्री तथा पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री बिमला अन्सारीले प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकलाई सम्बोधन गर्दै हालै भएको जेनजी पुस्ताद्वारा प्रत्यक्ष जनताद्वारा निर्वाचित प्रधानमन्त्रीको मागसहित भएको ऐतिहासिक आन्दोलनप्रति समर्थन व्यक्त गरेकी छन् ।

उनले आन्दोलनलाई केवल राजनीतिक माग नभई समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन, धर्मनिरपेक्षताको जग मजबुत पार्न, समानता र सामाजिक न्यायलाई संस्थागत गर्न र नेपाली समाजमा आमूल परिवर्तन ल्याउन गरिएको ऐतिहासिक अभियान भएको बताएकी हुन् ।

शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना गर्नुभयो। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक संवेदना पनि व्यक्त गरिन् ।

अन्सारीले आन्दोलनमा प्रतिक्रियावादी, अतिवादी र यथास्थितिवादी शक्तिहरूले घुसपैठ गरी संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेश सभा भवन तथा सरकारी संरचनाहरूमा आगजनी र तोडफोडजस्ता आपराधिक गतिविधि सञ्चालन गरेकोमा गहिरो आपत्ति जनाइन् ।

उनले भनिन्, “यी गैरलोकतान्त्रिक कार्यहरूले आन्दोलनको गरिमालाई मात्र नभई सम्पूर्ण जनताको धरोहरलाई क्षति पु¥याएको छ। सरकारको कर्तव्य छ — यस्ता अपराधीलाई निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्ने ।”

त्यसैगरी, उनले भदौ २३ र २४ मा सरकारले गरेको निर्मम दमन र त्यसपछिका हत्या, हिंसा, लुटपाट तथा आगजनीप्रति पनि कडा आपत्ति जनाएकी छन् । उनको भनाइमा लोकतन्त्रमा जनताको आवाजलाई सम्बोधन गरिनुपर्छ, दमन गर्न हुँदैन। त्यसैले उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेकी छन् ।

उनले वर्तमान राजनीतिक तरल अवस्थाको फाइदा उठाउँदै प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरूले संविधान र संघीयताको विरुद्धमा ‘संविधान खारेज गर, संघीयता खारेज गर’ भन्ने नारा लगाउनेसम्मको साहस गरेकोमा चिन्ता व्यक्त गरिन् ।

उनले स्पष्ट पार्दै भनिन्, “हामी संविधानले दिएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र समानताको मार्गदर्शनलाई हृदयंगम गर्दै, लोकतन्त्र र संविधानको रक्षा गर्न थप अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्नेछौँ।”

अन्त्यमा, अन्सारीले नजिकिँदै गरेको बडादशैं पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासी तथा देशवासीमा शान्ति, समृद्धि, स्वास्थ्य, एकता र प्रगतिका लागि हार्दिक मंगलकामना व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ