जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
सोनलले ६ दलका ५७ प्रदेश सांसदको हस्ताक्षरसहित बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यसै दिन, कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमतका १३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । तर, जनमतले यो दाबीलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई समर्थन गरेको थियो । दुवै पक्षले दाबी पेस गरेपछि प्रदेश प्रमुख कार्यालयमा तनावको स्थिति सिर्जना भएको थियो ।
कांग्रेस र एमालेले जनमतलाई फोडेर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास गरे पनि जनमतको कित्ता परिवर्तनले सोनलको पक्षमा समर्थन जुट्यो । फलस्वरूप, निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ले जनमत छोडेर जनस्वाराज पार्टी (जस्वपा) मा सह–नेतृत्वमा सनाखत गरे । सनाखतका लागि निर्वाचन कार्यालय पुगेका सिंहलाई रोक्न जनमतका नेता–कार्यकर्ताले प्रयास गरेका थिए ।
सोनलद्वारा शपथ ग्रहण
मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनलले बिहीबार औपचारिक रुपमा शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदीको उपस्थितिमा सम्पन्न समारोहमा सोनलले आफ्नो पदभार ग्रहण गर्दै प्रदेशको विकास, सुशासन र जनकल्याणमा सबैको साथमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोनलको मुख्यमन्त्री नियुक्ति पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामापछि आएको हो । प्रदेश प्रमुखले सबै दलहरूको सिफारिस र दाबीको समीक्षा गरेपछि सोनललाई मुख्यमन्त्री पदका लागि आह्वान गरेकी थिइन् । कांग्रेस र एमाले बाहेक अन्य दलहरुको समर्थन पाएको सोनलले अब स्थायी सरकार निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने छन् ।
शपथ ग्रहण समारोहमा प्रदेशका विभिन्न दलका नेताहरू, सांसदहरू, प्रशासनिक अधिकारीहरू र नागरिकहरू उपस्थित थिए । सोनलले शपथ ग्रहणपछि सम्बोधन गर्दै भने, “प्रदेशको सुशासन, पारदर्शिता र दिगो विकास सुनिश्चित गर्न मेरो सरकार प्रतिबद्ध छ। सबै समुदाय र क्षेत्रसँग समन्वय गरेर काम गर्नेछौं ।”
सोनलको नेतृत्वमा प्रदेश सरकार गठनले मधेशको राजनीतिक स्थिरता र सामाजिक एकता बलियो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, नयाँ सरकारले प्रदेशमा विकासका ठूला परियोजना, रोजगारी सिर्जना र नागरिक सेवामा सुधार ल्याउने वचन पनि दिएको छ ।
यसैगरी, मधेश प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
बुधबार पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी रहेका छन् ।
तपाईको प्रतिक्रिया