काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको सांगठनिक गतिविधिले पार्टीलाई अपडेट र अपग्रेट गर्न मद्दत पुर्याएको बताएका छन् ।
जसपा नेपालले झण्डै एक वर्षदेखि सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ बारे धारणा राख्दै बस्नेतले पार्टीका पछिल्ला सांगठनिक गतिविधिले समसामयिक राजनीति, जेनजी विद्रोहको म्याण्डेट र पार्टीका आगामी कार्यदिशालगायतका विषयमा पार्टीलाई मार्गनिर्देश गरेको बताएका हुन् ।
बस्नेतले भने, ‘अभियान अन्तर्गत विभिन्न तहगत समितिको अधिवेशन, पार्टी समिति गठन र पुनर्गठन, पार्टी प्रवेश, सदस्यता वितरण तथा नवीकरणलगायतका कार्यहरु भए । यिनै सांगठनिक गतिविधिले पार्टीलाई जीवन्त र क्रियाशील बनाउने काम गर्यो । पार्टीले महत्वपूर्ण पृष्ठपोषण प्राप्त गरेको छ ।’
पार्टी संगठनका प्राथमिकताहरु समयसँगै बदलिदै जाने बस्नेत बताउँछन् । ‘पहिले सांगठनिक शक्ति आर्जन गरेर जनता र समाजका लागि आवश्यक योगदान गर्ने उद्देश्य राखिन्थ्यो भने अब इमान्दारी र निष्ठापूर्वक जनता र समाजका लागि आफूले सक्ने योगदान गरेर पनि राजनीतिक र सांगठनिक शक्ति आर्जन गर्न सकिने भएको छ,’ उनी भन्छन् ।
कोशी, मधेस र कर्णाली प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको जसपा नेपालले लुम्बिनी प्रदेश समितिको अधिवेशनको कार्यतालिका सार्वजननिक गरेको छ । बाँकी प्रदेश समिति र भ्रातृसंगठनको अधिवेशन सम्पन्न गरेसँगै पार्टी आगामी निर्वाचनमा केन्द्रित हुने बस्नेतको भनाइ छ । अन्तरिम सरकारले निर्वाचनका लागि उपयुक्त वातावरण तयार पार्नुपर्नेमा उनको जोड रहेको छ ।
तपाईको प्रतिक्रिया