मटिहानीको श्री राम मा.वि.मा नयाँ भवन उद्घाटन

समाचार

मो. इसराफिल राइन, महोत्तरी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री राम माध्यमिक विद्यालय मटिहानीमा निर्माण सम्पन्न ४ कोठे पक्की भवनको एक कार्यक्रमका बीच मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका छन् ।

उक्त भवन निर्माणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट रु. ४५ लाख तथा मधेश प्रदेश सरकारको विशेष अनुदानबाट रु. १८ लाख गरी जम्मा रु. ६३ लाख खर्च भएको प्राविधिक दिनेश साहले जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मण्डलले भने, “शिक्षा क्षेत्रको गुणस्तर सुधार नगरी भविष्यको आधार मजबुत हुँदैन। आधारभूत संरचना निर्माणसँगै सिकाइमा सुधार, विद्यार्थीमैत्री वातावरण र विद्यालयको समग्र विकासमा नगरपालिका प्रतिबद्ध छ। यस्तो भवन निर्माणले विद्यार्थीको सिकाइ सहज बनाउने विश्वास लिएको छु। नगरले जहाँ आवश्यक हुन्छ त्यहाँ शिक्षा पूर्वाधारमा अझ लगानी गर्दै जानेछ।”

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, मटिहानी नगरपालिका वडा नं. ६, ७ र ८ का वडा अध्यक्ष क्रमशः कलीम अंसारी, जितनारायण माझी र रितेश साह, कार्यपालिका सदस्यहरू, वडा नं. ८ का पूर्व वडा अध्यक्ष गणेश प्रसाद साह, लोसपा नेपालका श्याम कुमार मंडल, नेपाली कांग्रेसका बैजनाथ मंडल, ने.क.पा. एमालेका जुगेश्वर खतवे, ने.क.पा. माओवादीका राजकिशोर मंडल, समाजसेवी उमाशंकर साह, महोत्तरी उद्योग वाणिज्य संघका नि.अध्यक्ष मोहन गुप्ता, उपाध्यक्ष पवन कुमार साह, श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका प्र.अ. ईश्वरी पौडेल, श्री राम मा.वि. मटिहानीका प्र.अ. श्रीश कुमार मिश्र, समाजसेवी बिन्देश्वर नायक, पूर्व कर्मचारी राम नारायण सहनी, बरुण मंडल, कैलाश ठाकुर, पूर्व शिक्षक राजेश्वर मंडल, बिश्वनाथ यादव, व्यवसायी महेश साह, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति थियो ।

स्थानीय समुदायले भवन निर्माणले विद्यालयको पूर्वाधार सुदृढ हुनाका साथै विद्यार्थीहरूको पठन–पाठनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ