मो. इसराफिल राइन, महोत्तरी । मटिहानी नगरपालिकाले स्थानीय पशुपालक किसानहरूको पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले हिउँदे घाँसको बिउ वितरण कार्यक्रम औपचारिक रूपमा प्रारम्भ गरेको छ ।
पशु आहारको अभाव न्यूनीकरण गर्दै दुध, मासु तथा पशुपालनबाट हुने आम्दानी वृद्धि गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गरे ।
सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले पशुपालन क्षेत्र किसानहरूको जीवनयापनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सहयोगमूलक कार्यक्रमहरू अघि बढाइरहेको बताए ।
उनले हिउँदे समयमा हरियो घाँसको अभाव हुने भएकाले यस किसिमको बिउ वितरण कार्यक्रमले किसानहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
पशु सेवा शाखा मटिहानीद्वारा सञ्चालन भइरहेको यस कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका करिब ५ सय जना पशुपालक कृषकहरूलाई बर्सिङ (बरसिम) र जौको हिउँदे घाँसको बिउ वितरण गरिने पशु सेवा प्राविधिक दिलिप कुमार यादवले जानकारी दिए ।
उनका अनुसार यी घाँसहरू पोषणयुक्त, छिटो बढ्ने र पशुका लागि उपयोगी भएकाले पशुपालनको उत्पादकत्व बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलीम अंसारीज्यू, पशु सेवा शाखा प्रमुख दिलीप यादव, स्थानीय जनप्रतिनिधि तथा ठूलो संख्यामा कृषकहरूको उपस्थिति रहेको थियो।
सहभागी कृषकहरूले नगरपालिकाले समयमै बिउ उपलब्ध गराइदिएकोमा खुशी व्यक्त गर्दै यसले पशु आहारको समस्या समाधान हुनुका साथै पशुपालन व्यवसायलाई थप सुदृढ बनाउने अपेक्षा राखेका छन्।
तपाईको प्रतिक्रिया