जन अधिकारप्रति जेन्जी युवाको आकर्षण बढ्दै, डेढ सयभन्दा बढीले गरे पार्टी प्रवेश

समाचार

काठमाडौं । डा.शरदसिंह यादवको नेतृत्वमा हालै गठन भएको जन अधिकार पार्टीप्रति जेन्जी युवाको आकर्षण बढ्दै गएको छ ।

जन अधिकार पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक सय ५० भन्दा बढी जेन्जी युवाहरुले पार्टी प्रवेश गरेका हुन् ।

जन अधिकारका अध्यक्ष डा.यादव, नेता संजय यादव लगायतले नवप्रवेशी जेन्जी युवाहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए ।

जेन्जी युवाहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष डा.यादवले जेन्जीहरुको वास्तविक पार्टी जन अधिकार नै रहेको दाबी गर्दै भने, ‘हाम्रो पार्टीमा युवाहरुलाई झोले नभई नेतृत्व पंक्तिमा सम्मानजनक उपस्थिति गराउँछौं ।’

उनले जन अधिकार पार्टीमा कुनै व्यक्ति विशेषलाई देवत्वकरण नगर्ने बताउँदै युवाको ५० प्रतिशत सहभागिता गराउने जानकारी दिए । जेन्जी युवाहरुको उत्साहजनक सहभागिताले जनताको अधिकार स्थापित गराउन संघर्षरत रहने उनले बताए ।

पार्टी प्रवेश गर्दै जेन्जी युवाहरुले आफूहरु कुनै पार्टीको झोले नभई जनताको अधिकारका लागि लड्ने प्रतिबद्धता जनाएका थिए । जेन्जीहरुले एक श्वरमा भने, ‘हामीले धेरै पार्टीहरुलाई हेर्यौं, अब जन अधिकार पार्टीलाई एक पटक विश्वास गरौं । यसले नै अधिकार स्थापित गराउँछ ।’

पार्टी प्रवेश कार्यक्रम पश्चात् जन अधिकार निकट युवा संघसमेत घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ