कपिलवस्तुमा समाजवादी विद्यार्थी युनियनको तदर्थ समिति गठन

समाचार

इमरान खान, कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन कपिलवस्तुले तदर्थ समिति गठन गरेको छ ।

मारुफ खानको संयोजकत्वमा गठन गरिएको समितिको सहसंयोजकमा बबिता मौर्यालाई चयन गरिएको छ । समिति गठनसम्बन्धी जानकारी दिँदै जसपा नेपाल कपिलवस्तुका जिल्ला सचिव शिवलाल यादवले ११ सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी गराए ।

उनले नवगठित समितिले विद्यार्थीको हक, अधिकार र शैक्षिक मुद्दामा सशक्त रूपमा आवाज उठाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि विद्यार्थी संगठनको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए ।

उनले भने, “विद्यार्थीको हक र अधिकारका लागि समाजवादी विद्यार्थी युनियन सधैं अग्रपंक्तिमा रहँदै आएको छ, अब यसलाई अझ व्यवस्थित र परिणाममुखी बनाइनेछ ।”

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य अब्दुल रसिद खानले विद्यार्थी राजनीतिले सही दिशा लिन सके समाज परिवर्तनको बलियो आधार बन्ने उल्लेख गर्दै नवगठित समितिलाई सफलताको शुभकामना दिए ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य साधिका यादवले महिला विद्यार्थीको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सहसंयोजकमा बबिता मौर्याको चयनले संगठनमा समावेशिता मजबुत हुने विश्वास व्यक्त गरिन् ।

जसपा नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले विद्यार्थी संगठन पार्टीको मेरुदण्ड भएको उल्लेख गर्दै विद्यार्थी आन्दोलनलाई वैचारिक, अनुशासित र जनमुखी बनाउने दिशामा अगाडि बढ्न आग्रह गरे ।

समिति गठन कार्यक्रममा पार्टीका नेता, विद्यार्थी प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ