जनकपुरधाम । मधेश प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनलाई सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा आइतबार पुस १३ गतेदेखि दुईदिने तालिम सुरु भएको हो।
क्यामेराको लेन्समार्फत मधेश प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटीपीका प्रबन्धक धर्मराज दवाडीले जानकारी दिए। उनले जनकपुरधाम केवल जानकी मन्दिर र धार्मिक गन्तव्यमा मात्र सीमित नभई मिथिला संस्कृति, कला, सभ्यता, ऐतिहासिक सम्पदा र समुदायका जीवनशैलीसँग जोडिएका असंख्य पर्यटन कथाहरू रहेको उल्लेख गरे। ती कथालाई प्रभावकारी दृश्य माध्यमबाट प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो। दवाडीले दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गइरहेकाले पर्यटनका सम्भावनालाई उजागर गर्दै स्थानीय गन्तव्यलाई विश्व बजारसम्म पु¥याउन यो तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवद्र्धनको मेरुदण्डका रूपमा व्याख्या गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताए। उनले जनकपुरधाम, धनुषा, महोत्तरी, सर्लाही, सिरहा वा सप्तरीका सांस्कृतिक, धार्मिक र प्राकृतिक कथाहरू क्यामेरामा उतार्दा ती तस्बिरहरूले मधेश प्रदेशलाई विश्व पर्यटन नक्सामा अझ मजबुत रूपमा स्थापित गर्ने धारणा राखे। उनका अनुसार यो तालिमले मधेश प्रदेशका ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोग पु¥याउनेछ।
तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, बोर्डको प्रवद्र्धन रणनीति, गन्तव्य ब्रान्डिङ र दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिए। त्यस्तै, प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर र तस्बिर कथाको संरचनाबारे सहजीकरण गरेका छन्।
तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यवहारिक अभ्यास गराउँदै जनकपुरधाम र आसपासका पर्यटकीय तथा सांस्कृतिक स्थलहरूको फिल्ड भिजिट गराइने आयोजकले जनाएको छ। तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३० जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको छ।
यस प्रशिक्षणले मधेश प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीपराज श्रेष्ठले विश्वास व्यक्त गरे। –प्रदीप राज ओन्त
तपाईको प्रतिक्रिया