काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबीच एकीकरण हुने भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान र सामाजिक न्यायका मुद्दालाई मजबुत बनाउने उद्देश्यसहित दुवै पार्टी एकीकृत हुने सहमति भएको हो ।
काठमाडौंमा आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको गहन मूल्याङ्कन र विश्लेषण गर्दै एकीकरणको निर्णय गरेको हो।
बैठकले संघीयता, समानुपातिक समावेशिता, पहिचान र सामाजिक न्यायजस्ता अग्रगामी परिवर्तनका एजेन्डाहरू कमजोर पार्ने प्रयासहरू बढ्दै गएको निष्कर्ष निकाल्दै ती मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन एकीकृत राजनीतिक शक्ति आवश्यक रहेको ठहर गरेको छ।
नेताहरूले पार्टी एकीकरणले मधेशकेन्द्रित आन्दोलनलाई नयाँ ऊर्जा दिने, संघीय संरचनालाई सुदृढ बनाउने तथा न्यायपूर्ण समाज निर्माणतर्फ निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। एकीकरणको कार्यविधि, संगठनात्मक संरचना र नेतृत्वबारे आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने जनाइएको छ।
राजनीतिक वृत्तमा यस एकीकरणलाई मधेश राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ, जसले आगामी दिनमा राष्ट्रिय राजनीतिमा समेत उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया