भारतद्वारा निर्वाचनसम्बन्धी सहायताको पहिलो किस्ता प्रदान

समाचार

काठमाडौं । भारत सरकारले नेपालमा निर्वाचनसम्बन्धी सहायताको पहिलो किस्ता प्रदान गरेको छ ।

गृह मन्त्रालयमा मंगलबार आयोजित समारोहमा भारतबाट चुनाव सम्बन्धी सहयोगको पहिलो किस्ता नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याललाई हस्तान्तरण गरिएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासका चार्ज डि’अफेयर्स ए.आई. डा. राकेश पाण्डेले ६० भन्दा बढी डबल–क्याब पिकअप सवारीसाधन र अन्य सामग्रीहरू हस्तान्तरण गरेका छन्, जुन सामग्रीहरू आगामी चुनावको तयारीको सम्बन्धमा नेपाल सरकारले अनुरोध गरेको सहयोगको हिस्सा हुन् ।

गृहमन्त्री अर्यालले उपहारस्वरूप प्राप्त सवारीसाधन र सामग्रीका लागि भारत सरकार र भारतीय जनता प्रति धन्यवाद व्यक्त गरे । उनले भारत र नेपालको बीचको गहिरो र व्यापक सम्बन्धको सराहना पनि गरे ।

नेपाल सरकारको अनुरोधमा आधारित भएर, भारतले २००८ देखि नेपाललाई निर्वाचन सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ । यसमा भारत सरकारले विभिन्न मन्त्रालय र विभागहरू, निर्वाचन आयोगसमेत, नेपाललाई उपहारस्वरूप दिएको करिब २,४०० सवारी उपकरणहरू समावेश छन् ।

आगामी निर्वाचनका लागि भारतले प्रदान गर्ने सहयोगमा करिब ६५० सवारी साधनहरू समावेश छन्, जसलाई आगामी केही हप्ताभरि अलग–अलग ब्याचमा वितरण गरिनेछ।

भारत सरकारबाट भइरहेको निरन्तर सहकार्य र सहयोग केवल दुवै देशबीचको बहु–पक्षीय र बहु–क्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब मात्र होइन, यसले भारत र नेपालको जनताबीचको गहिरो आपसी विश्वास र मित्रता पनि जनाउँछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ