राकेश यादव, रौतहट । नेकपा एमालेका दर्जनौ कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहमपुरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि एमाले कार्यकर्ता हरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनको बेलामा एमालेका दर्जनौ कार्यकर्ताले पार्टी परित्याग गरे पछि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीलाई ठूलो क्षति नै भएको छ । एमालेका प्रदेश समिति सदस्य एवं पूर्व नगर उपप्रमुख अंशु सिंह, पूर्वसंविधान सभा सदस्य बबन कुमार सिंह, राष्ट्रिय युवा संघ नेपालका रौतहट जिल्ला संयोजक मुन्ना यादव, युवा संघ नेपालका शैफ मिकरानी लगायतका सक्रिय कार्यकर्ताहरुले पार्टीको साधारण सदस्य समेतबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।
भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको भावनाविपरीत एमाले पार्टीको गतिविधि देखिएको प्रति असन्तुस्ट भएका कार्यकर्ताले परिवर्तनको पक्षमा लाग्ने भन्दै पार्टी छोडेको बताएका छन् । मधेश प्रदेश सदस्य अंशु सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतले पटक पटक मधेशी जनतालाई हेप्ने गरेको आरोप लगाए । पार्टीले समयको माग अनुसार नभई आफ्नो हुकुमी शैलीमा प्रस्तुत हुने गरेको बबन सिंहको आरोप रहेको छ ।
उनले भने, ‘अहम कसैको टिक्दैन ओलीको दम्भको कारण पार्टीलाई आगामी निर्वाचनमा ठूलो क्षति व्योहोर्नु पर्छ ।’ युवा संघ नेपालका संयोजक मुन्ना यादवले महेश बस्नेतको मधेशी जनता प्रतिको टिप्पणीले एमालेलाई मधेशमा ठूलो झट्का लाग्ने दावी समेत गरे ।
नेकपा एमाले जिल्ला कार्य समिति रौतहटले ५ जना कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेपछि रौतहटमा एमाले परित्याग गर्नेको संख्या बढ्दै गएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पनि सयौं कार्यकर्ताले एमाले पार्टी परित्याग गरेका छन् ।
तपाईको प्रतिक्रिया