काठमाडौं ८ का उम्मेदवार राजेश शाक्य जनगुनासा सुन्दै मत माग्दै

समाचार

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ८ का उम्मेदवार राजेश शाक्य ले याट्खा बहाल क्षेत्रमा स्थानीयबासीसँग भेटघाट गर्दै गुनासा तथा सुझाव संकलन गरेका छन्। उक्त भेट घाट कार्यक्रममा शाक्यले स्थानीयले उठाएका पूर्वाधार, सम्पदा संरक्षण र वातावरणीय व्यवस्थापन सम्बन्धी विषयहरू ध्यानपूर्वक सुन्दै आगामी दिनमा समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

शाक्य २०७७÷७८ मा बागमती प्रदेशका माननीय सभासद रहँदा याट्खा बहालको उद्घाटन गरेका थिए। त्यस क्रममा बहाल क्षेत्रमा प्रयोग गरिएको परम्परागत ‘तेलि इट्टा’ जस्ता प्राकृतिक सामग्रीले स्थानको मौलिकता र वातावरणीय सन्तुलन कायम राख्न टेवा पुगेको भन्दै उनले त्यस किसिमका दिगो तथा प्रकृतिसँग जोडिएका विकासलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

कार्यक्रममा काठमाडौँका पूर्वमेयर विद्या सुन्दर शाक्य को पनि उपस्थिति रहेको थियो। उनले विकासप्रेमी नेताका रूपमा राजेश शाक्यले क्षेत्र नं. ८ मा उल्लेखनीय काम गरेको उल्लेख गर्दै प्रत्यक्ष र समानुपातिक दुवैमा राजेश शाक्यलाई मत दिई विजयी गराउन स्थानीयसँग आग्रह गरे।

पूर्वमेयर शाक्यले भने, “अहिलेसम्म भएका विकास कार्यहरूको उचित मूल्याङ्कन गर्दै निरन्तरता दिन सक्ने नेतृत्वलाई साथ दिनु आवश्यक छ।” उनले विगतमा भएका सम्पदा संरक्षण, सडक सुधार तथा सार्वजनिक स्थल व्यवस्थापनका कार्यहरूलाई स्मरण गर्दै आगामी दिनमा अझ व्यापक विकासका लागि राजेश शाक्य सक्षम उम्मेदवार भएको धारणा व्यक्त गरे।

उम्मेदवार राजेश शाक्यले स्थानीयको विश्वासलाई मुख्य आधार मानेर पारदर्शी, दिगो र जनअपेक्षाअनुसारको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहो¥याएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ