तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्री धुमधामका साथ मनाइयो

समाचार

इमरान खान, कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा महाशिवरात्रीको शुभ अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ मन्दिरसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनहरुले पुजापाठ गरी धुमधामका साथ मनाएका छन् ।

एशियाकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको दाबी गरिएको मन्दिरमा बिहानदेखि नै भक्तजनहरुको ठूलो भीड लागेको थियो । छिमेकी जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी राष्ट्र भारतबाट आएका भक्तजनहरुले मन्दिरमा पूजापाठ गरेका थिए ।

शनिबार रातिदेखि नै मन्दिरमा भक्तजनहरुको भीड लागेको थियो । मन्दिरमा आएका साधु, सन्त, भक्तजनहरुको पूजापाठ र सहज दर्शनका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिकाले बताए । मन्दिरको चार वटै द्वार खोलिएको छ र मन्दिरमा महिला र पुरुषका लागि छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको थियो ।

पुरुषलाई पूर्वी द्वार र महिलालाई पश्चिमी द्वारबाट मन्दिरमा प्रवेश गराइएको थियो । मन्दिरदेखि मुख्य बाटो हुँदै चौक बजार सम्म भक्तजनहरुको लाइन लागेको थियो । सहज ढंगबाट दर्शन तथा सुरक्षित पूजापाठका लागि मन्दिर परिसरमा नेपाल र सशस्त्र प्रहरी, ट्राफिक प्रहरी परिचालन गरिएको थियो । भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही तौलेश्वर नाथ मन्दिरमा दर्शन गराएका बुढापाकाले बताए ।

१८७२ सालमा स्थापित मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ । तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र समेत बनेको छ । भक्तजनहरुको सुरक्षालाई मध्यनजर गरी मन्दिर परिसरमा सिसी क्यामेरा समेत जडान गरिएको छ ।

आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्थापन पनि गरिएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ