उम्मेदवारमाथि भएको आक्रमण प्रयासप्रति समता पार्टीको ध्यानाकर्षण

समाचार

काठमाडौं । बारा जिल्ला निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार तथा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव माथी भएको आक्रमण प्रयासप्रति राष्ट्रिय समता पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

समता पार्टीका महासचिव डा.अभिषेक तिवारीले प्रेस विज्ञप्ति जारी गरी, ‘बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ स्थित इनरवा बजारमा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा आज केही व्यक्तिहरूको समूहले बाटो अवरोध गरी अभद्र व्यवहार गर्दै आक्रमणको प्रयास गरेका छन् ।’ उल्लेख गरेका छन् ।

“हिन्दू राष्ट्र” सम्बन्धी राजनैतिक धारणा राखेकै कारण योजनाबद्ध रूपमा डर त्रास सिर्जना गर्न खोजिएको तिवारीको ठहर रहेको छ । उक्त घटनाका क्रममा स्थानीय नागरिकहरू शान्ति र लोकतन्त्रको पक्षमा उभिए पछि सम्भावित अप्रिय घटना टरेको छ ।

‘लोकतान्त्रिक व्यवस्थामा विचार र मत फरक हुन सक्छ, तर हिंसा, धम्की र आतंकको माध्यमबाट राजनैतिक आवाज दबाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । यस्तो गतिविधि निर्वाचनको स्वच्छ वातावरण माथिको प्रत्यक्ष आक्रमण हो ।’ विज्ञप्तिमा भनिएको छ ।

बारा प्रशासनले यथाशीघ्र निष्पक्ष छानबिन गरि उपरोक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुका साथै राज्यले उम्मेदवारको सुरक्षाको सुनिश्चितता गरि भयरहित वातावरणमा आसन्न निर्वाचन सम्पन्न गराउन राष्ट्रिय समता पार्टी नेपाल जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ