राजविराज । डा.शरदसिंह यादव नेतृत्वको जन अधिकार पार्टीले चुनावी घोषणा सार्वजनिक गरेको छ ।
जन अधिकार पार्टीले मंगलबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
अधिकारको आन्दोलनबाट जन्मेको मधेशी दलहरु आफ्नो व्यक्तिगत अधिकार खोज्नु, परिवारवाद र आफन्तमै रमाएका कारण मधेश प्रदेशको विकास हुन नसकेको ठहर गरेको छ ।
संघीयता आएपछि पहिलो पाँच बर्ष आफूलाई मधेशी भनिने दलहरुले नै सरकारको नेतृत्व गरेको र अहिले केही दिन अगाडि नेपाली कांग्रेसले नेतृत्व लिँदा दोस्रो कार्यकालको तीन बर्ष मधेशी दलले नै मधेश प्रदेशको नेतृत्व गरेपनि प्रदेशको अवस्था उस्तै रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
‘यो अवधीमा प्रदेशको कुनै पनि सूचकांकमा सुधार आउन सकेको छैन्’ घोषणा पत्रमा भनिएको छ, ‘मधेश उर्वरमूमी हो । यहाँका अधिकांस बासिन्दा कृषिमा निर्भर छन् । कृषिलाई व्यवसायीकतातर्फ रुपान्तरित गर्दै अघि बढाउन सकिन्थ्यो । यो अवधीमा प्रदेशलाई नै शिक्षित बनाउन सक्नुप¥थ्यो । कुनै पनि जिल्ला हालसम्म साक्षर घोषणा हुन सकेको छैन् ।’
भौगोलिक सुगमता, उर्वर भूमी, पूर्वाधारमा सरल पहुँच लगायत श्रोत साधनले सम्पन्न भएपनि मानव विकास सूचकांक, साक्षरता दर, रोजगारीसहित शिक्षा र स्वास्थ्यमा पनि मधेशको त्यत्तिकै कमजोर स्थिति रहेको उल्लेख गरिएको छ ।
‘संघीयताको झण्डै एक दशक भएपनि प्रदेशका आन्तरिक श्रोतको दायरा विस्तार हुन नसक्नु र प्रदेशका जनताले हालसम्म सुशासनको अनुभूति गर्न नसक्नु झन दुःखको कुरा हो’ घोषणा पत्रमा अघि भनिएको छ, ‘प्रदेशमा बहुआयामिक गरिबी दर अन्य प्रदेशभन्दा उच्च छ । तथ्यांकमा हेर्ने हो भने बहुआयामिक गरिबी दर ४७ प्रतिशतको हाराहारीमा छ ।’
तपाईको प्रतिक्रिया