मो. इसराफिल राइन, महोत्तरी । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरी जिल्लाको मटिहानीमा आएको छ।
साधु–सन्त तथा गृहस्थ परिवारजनको धार्मिक आस्थासँग जोडिएको यस परिक्रमाको स्वागतका लागि मटिहानी नगरपालिकाले सरसफाई, खानेपनी, निःशुल्क स्वास्थ्य उपचार लगायतका ब्यबस्था गरिएको कुरा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले बताएका छन् ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज मटिहानीमा श्री मिथिला बिहारीजी र किशोरीजीको डोलालाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, नेपाली सेनाको गोरखनाथ गण परिकौलीका गणपति राम प्रसाद लामिछाने, नेपाल प्रहरीका एस.पी. हेरम्भ शर्मा, सशस्त्र प्रहरीका एस.पी. शेर बहादुर अधिकारी, अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख चन्दन कुमार झा लगायत स्थानीयहरुद्वारा भब्य स्वागत गरिएको थियो ।
नगर प्रमुख मण्डलले माध्यमिकी परिक्रमा मिथिला सभ्यता र सामाजिक एकताको जीवन्त प्रतीक भएको उल्लेख गर्दै परिक्रमावासीको सहजताका लागि सबै आवश्यक व्यवस्था मिलाइएको बताए ।
उनले भने, “माध्यमिकी परिक्रमा केवल धार्मिक यात्रा मात्र होइन, यो मिथिलाको इतिहास, संस्कृति र पहिचानसँग गाँसिएको अमूल्य धरोहर हो। साधु–सन्त र गृहस्थलाई एउटै लस्करमा बाँधेर अघि बढ्ने यस यात्राले आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिन्छ।”
नगरप्रमुख मण्डलका अनुसार स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ, विद्युत्, शौचालय तथा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर काम गरिएको छ। “परिक्रमावासीलाई कुनै किसिमको असुविधा नहोस् भन्ने हाम्रो उद्देश्य हो।
मटिहानीमा प्रवेशदेखि यहाँ विश्राम गर्ने अवधिसम्म सुरक्षित र भक्तिमय वातावरण उपलब्ध गराउन नगरपालिका, सुरक्षा निकाय र स्थानीयवासी समन्वयमा जुटेका छौं,” उनले भने।
राम–सीताको विवाह संस्कारसँग जोडिएको मटिहानी भूमि माध्यमिकी परिक्रमाको ऐतिहासिक केन्द्रमध्ये एक भएको उल्लेख गर्दै उनले थपे, “प्रारम्भकालदेखि नै परिक्रमा स्वागत गर्ने सौभाग्य मटिहानीवासीलाई प्राप्त हुँदै आएको छ, जुन हाम्रो लागि गौरवको विषय हो।
झाँकी, भजन–कीर्तन र बाजागाजासहित साधु–सन्त तथा गृहस्थको एकैसाथ लामो लस्करका रूपमा अघि बढ्ने माध्यमिकी परिक्रमा करिब १५० देखि १७० वर्ष पुरानो इतिहास बोकेको विश्वकै लामो पदमार्गीय धार्मिक यात्रामध्ये एक मानिन्छ।
तपाईको प्रतिक्रिया