नेपाली कम्युनिस्ट पार्टीको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न

समाचार

इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ उमरीमा नेपाली कम्युनिस्ट पार्टीको आयोजनामा चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले नेपाली कम्युनिस्ट पार्टी प्रति देशभर उत्साह र उल्लास बढिरहेको बताएका हुन् । उनले कपिलवस्तु क्षेत्र नं. ३ मा पार्टीले राम्रो स्थान हासिल गर्ने विश्वास व्यक्त गर्दै उम्मेदवारलाई जिताउन सम्पूर्ण पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

खनालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयहरू तथा पछिल्लो समय युवापुस्ताले उठाएका एजेन्डाहरू पार्टीका नीति र सिद्धान्तसँग मेल खाने बताए । साथै भ्रष्टाचारमुक्त नेपाल, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्ता विषयहरू पनि पार्टीका प्रमुख एजेन्डा रहेको उनको भनाइ थियो।

त्यस्तै, क्षेत्र नं. ३ का उम्मेदवार एहशान अहमद खाँले क्षेत्रको समग्र विकासका लागि एक पटक विश्वास गरेर मत दिन मतदातासँग आग्रह गरे । उनले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू रुद्र बन्जाडे, अब्दुल रहुफ, रहिश शाह तथा प्रदेश सदस्यहरू दिनेश पुन, राजेन्द्र आचार्य, अर्जुन सापकोटा लगायतका नेताहरूले पनि सम्बोधन गर्दै पार्टीको पक्षमा माहोल सकारात्मक रहेको बताएका थिए। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्ताहरू सक्रिय रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढ गर्ने र कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्य पूरा गरेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ