बैतडी । आम जनता पार्टी (आजपा)का नेता एवं बैतडी–१ का उम्मेदवार विसन सिंह बोहराले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । बैतडी सहित समग्र सुदुरपश्चिमको विकासका लागि सबै पार्टीमा रहेका राम्रा मान्छेहरु एकजुट भएर आजपाका उम्मेदवारलाई बिजयी गराउन उनले आग्रह गरेका छन् ।
बैतडीको गोकुलेश्वरमा बोहराले मतदातसंग भेटघाट गर्दै बैतडीको समग्र विकासका लागि मोबाइल छापमा मतदान गर्न अपिल गरेका छन् । बैतडीको विभिन्न ठाउँमा पुगेर आम मतदातासंग चुनावी गतिविधिका बारेमा छलफल गर्दै मोबाइल छापमा मतदान गर्न उनले आग्रह गरेका छन् ।
प्रत्यक्ष निर्वाचित प्रधामन्त्री र मुख्यमन्त्री, पूर्ण डिजिटल प्रशासन, भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गर्ने, एक घर एक रोजगारीको ग्यारेन्टी गर्ने, निशुल्क स्वास्थय र गुणस्तरीय शिक्षा, किसानलाई मासिक पेन्सन र सिँचाईको व्यवस्था, गरिब र दलितलाई पक्की आवास, कर घटाऔँ र घुस हटाऔँ (मौलापुर मोडेल), सांसदलाई फिर्ता बोलाउने अधिकार (राइट टु रिकल), जेनजीको सम्मान र समृद्ध नेपाल निर्माण गर्नु नै आफ्नो उम्मेदवारीको प्रमुख एजेण्डा रहेको बोहराले जनाएका छन् ।
बैतडी सहित सुदुरपश्चिममा पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु बैतडीका बासिन्दालाई समेत उपलब्ध गराउने उदेश्य आफ्नो रहेको बोहराले जनाएका छन् ।
यसैगरी पार्टीको घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पुरा गर्ने उनले जनाएका छन् । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको छ ।
यसैगरी बैतडीलाई भ्रष्टाचारमुक्त सहित भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने, अनावश्यक दोहोरो कर हटाउने, बिजुलीबती, पानी नपुगेको ठाउँहरुमा पुर्याउने, बैतडीको प्रर्यटन विकासका साथै जिल्लाभरी निशुल्क घुम्ती अस्पताल र एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता बोहराले गरेका छन् ।
तपाईको प्रतिक्रिया