एमाले र रास्वपाका कार्यकर्ता नेपाली कांग्रेसमा

समाचार

राकेश यादव, रौतहट । नेकपा एमालेका सचिवालय सदस्यसहित दर्जनौं कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचनको समय नजिकदै जाँदा एक पार्टी छोडेर अर्को पार्टीमा जाने कार्य भइरहेको छ । पार्टीका गतिविधि र उम्मेदवारको व्यवहारबाट असन्तुस्ट भएका कार्यकर्ताहरु एकबाट अर्को पार्टीमा प्रवेश गरिरहेको देखिएको छ ।

रौतहटको राजदेवी नगरपालिका ५ पताहीमा शुक्रबार नेकपा एमालेका राम तलेबर सिंह, निखिल सिंह, जितेन्द्र सिंह, सुरेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक किशोरी पासवान, सोगारथ पासवान, मुन्ना पासवान, इसु देवान, विश्वनाथ साह, अमन सिंह, अशोक कुमार सिंह, संजय साह र मत्सरीमा नेकपा एमाले परित्याग गरेका पूर्व रौतहट जिल्ला कमिटिका सचिवालय सदस्य कमलेश कुमार मिश्रले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी परित्याग गरि कांग्रेसमा आएकाहरुलाई कांग्रेसका रौतहट १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार झा, प्रदेश सांसद नागेन्द्र साह र पूर्वनगरप्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य धिरेन्द्र कुमार सिंहले सामूहिक रुपमा टिका लगाई पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार अनिल कुमार झाले आफू अधिकारवादी नेता रहेको हुँदा जुनसुकै पार्टीबाट चुनाव लडेपनि विचार र सिद्धान्त नबदलिने बताएका छन् । मधेश र मधेशी जनताको हक अधिकारका लागि संघीयताका र गणतन्त्रका लागि आवाज उठाउँदै आएको र आगामी दिनमा पनि आवाज उठाउने बताए ।

नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्तालाई लक्षित गर्दै झाले केन्द्रीय योजनालाई आफूले गरेको कार्य भनेर झुठो प्रचार गर्ने बानि नभएको टिप्पणी गरे । २०७४ को स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका नगरप्रमुख गुप्ताले आफ्नो खल्तीबाट विकास निर्माणको काम गरेको हो कि प्रश्न तेर्साउदै प्रतिनिधि सभाका सदस्यले विकासको कार्य गर्दैन पहल मात्र गर्ने उल्लेख गरे ।

गुप्ताले निर्वाचन प्रचार प्रसारको क्रममा पटक पटक झा माथि केहि काम नगरी आफ्नो व्यक्तिगत विकास गरेको भन्दै आलोचना गर्दै आएको विषयमा प्रतिक्रिया दिँदै झाले आतिएर व्यक्तिगत आरोप प्रत्यारोप लगाउने गरेको बताए । ‘हामी पनि चुनावमा प्रतिस्पर्धीको रुपमा उभिएका छौं, कसै माथि लान्छना लगाउने काम गरिरहेका छैनौं’, उनले भने, ‘सांसदले नीति निर्माण गर्ने हो विकासको झुठो आस्वासन बाड्ने होइन ।’

नयाँ पुस्ताको आन्दोलन पछि कांग्रेस परिवर्तन भएर आएकोले नेपाली जनताको आशा र भरोसा कांग्रेस माथि नै बढी भएको दावी गरे । गुप्ताको आरोपमा कुनै सत्यता नरहेकोले भ्रममा नपर्न आम मतदातासँग समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ