आलमले जोगाए कांग्रेसको लाज

समाचार

राकेश यादव, रौतहट । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका ३९ वर्षीय मोहमद फिरदोश आलमले मधेश प्रदेशमा निर्वाचित भएर नेपाली कांग्रेसको साख जोगाएका छन् ।

निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका किरण कुमार साहलाई ११ हजार ८६ मतको अन्तरले पराजित गर्दै उनले कांग्रेस को इज्जत जोगाउन सफल भएका हुन् ।

४ वटा निर्वाचन क्षेत्र भएका रौतहट जिल्लामा ३ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जित हासिल गरेका छन् भने आलम एक्लै नेपाली कांग्रेसबाट निर्वाचित भएर कांग्रेसलाई क्लीन स्वीप हुनबाट बचाएका छन् ।

मधेश प्रदेशमा ३२ सीटमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३० सीट ल्याउन सफल भएको अवस्थामा आलम नेपाली कांग्रेसबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य मध्ये सबैभन्दा बढी मतान्तरले निर्वाचित हुने प्रतिनिधि सभा सदस्य बनेका छन् ।

नेपाली कांग्रेसका पूर्वमन्त्री स्वर्गीय महमद आफताव आलम र नसीमा खातूनको जेठो सन्तानको रुपमा रहेका डाक्टर मोहमद फिरदोस आलम दोस्रो पटकमा निर्वाचित हुन सफल भएका छन् । २०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका किरण साहबाट ४ हजार ५ सय ९४ मतको अन्तरले पराजित भएका आलम २०८२ को निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार साहलाई ११ हजार ८६ मतको फराकिलो अंतरले हराउँदै जित हासिल गरेको छ ।

२०७९ को निर्वाचनमा ३२ हजार ८४२ मत ल्याएका साहले २०८२ को निर्वाचनमा १८ हजार ४४२ मत ल्याउन सफल भएको निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत सीताराम खडकाले जानकारी दिएका छन् । २०७९ मा २८ हजार २४८ मत ल्याएका मोहमद फिरदोस आलमले २०८२ निर्वाचनमा २९ हजार ५२८ मत ल्याएका हुन् ।

एम् बी बी एस अध्यन गरेका आलम २०७३ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा बहाली भएका थिए । २०६४ साल चैत्र २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनको पूर्व संध्यामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा बूबा स्वर्गीय महमद आफताब आलम पक्राउ परेपछि प्रहरीको जागीर २०७६ मा छोडेको आलमले बताए ।

बूबा कारागारमा परेपछि रानीतिक क्षेत्रमा सक्रिय भएका आलम २०७९ को निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका थिए । आलमका कान्छो भाई मोहमद डाक्टर राजिक आलम राजपुर नगरपालिकाका नगर प्रमुख रहेका छन् ।

नेपाली कांग्रेसमै परिवार रहेको हुदा बूबाको अधुरो सपना पूरा गर्ने जिम्मेवारी काधमा आएको आलम बताए । संचारकर्मीसंग कुरा गर्दै आलमले भने, ‘देश भरीमा आएको सुनामीको बेला पनि क्षेत्रका मतदाताहरुले जून विस्वास र भरोसाका साथ मलाई निर्वाचित गराउनु भएका छन त्यसको ऋणी सदैव रहने छु ।’ नेपाली कांग्रेसको उपस्थति संसदमा न्यून भएपनि जनतासँग गरेको प्रतिबद्धता पूरा गराउन तत्पर रहने बताउँदै आलमले क्षेत्रमा देखिएका शिक्षा, स्वास्थ्य, पूर्वाधार, बेरोजगारीको समस्या समाधानको लागि पहल गर्ने बताए ।

बूबा जिन्दगीमा हुँदा लडेको चुनाव र नहुँदा लडको निर्वाचनमा फरक महसूस भएको उल्लेख गर्दै बूबाले देखेका सपनालाई पूरा गर्ने दायित्व आफ्नो काधमा आएकोले निष्पक्ष रुपमा जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

रौतहट २ बाट निर्वाचनमा भाग लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगीरले ९ हजार ३२५ मत, जनता समाजवादी पार्टीका राम आशीष राय यादवले २ हजार ९६० मत, नेकपा एमालेका मोहमद अतिउल्लाहले २ हजार ३८२ मत, आम जनता पार्टीका श्री भगवान राउत १ हजार ८२५ मत र प्रगतिशील लोकतान्त्रिक पार्टीका सुरेन्द्र प्रसाद जैसवालले ८५९ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ