मातृभाषामा आधारित शिक्षण सामग्री विकाससम्बन्धी तीन दिने कार्यशाला

समाचार

कपिलवस्तु । प्रारम्भिक कक्षाका बालबालिकामा साक्षरता सीप प्रवद्र्धन गर्ने उद्देश्यले रुम टु रिड संस्थाको आयोजना र पीस नेपालको समन्वयमा कपिलवस्तुमा सञ्चालन गरिएको मातृभाषामा आधारित सामग्री विकास कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।

’’विश्व परिवर्तन शिक्षित बालबालिकाबाट सुरु हुन्छ’’ भन्ने मूल नारासहित ३ दिने सञ्चालित उक्त कार्यशालाले स्थानीय स्तरमा शिक्षण–सिकाइ प्रक्रियामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

कार्यशालामा प्रारम्भिक तहका बालबालिकाको सिकाइलाई प्रभावकारी र सहज बनाउन मातृभाषामा आधारित शिक्षण सामग्री विकासमा विशेष जोड दिइएको थियो । कपिलवस्तुका ४८ वटा सामुदायिक विद्यालयमा अवधिभाषालाई ब्रिज भाषा का रूपमा प्रयोग गरी नेपाली भाषाको साक्षरता विकास गर्ने नयाँ अभियानसमेत अघि बढाइएको छ ।

विशेषगरी नेपालीलाई दोस्रो भाषाका रूपमा सिकिरहेका बालबालिकालाई लक्षित गर्दै उनीहरूको आफ्नै मातृभाषाबाट नेपाली सिकाइलाई सहज बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साक्षरता कार्यक्रम प्रबन्धक स्मिता नेपालले हाल कक्षा १ का विद्यार्थीहरूलाई केन्द्रमा राखेर पठनपाठनको ढाँचामा आवश्यक परिमार्जन गरिएको बताउनु भएको छ ।

तीन दिने कार्यशालामा स्थानीय विज्ञहरूले अवधिभाषामा आधारित विभिन्न शैक्षिक सामग्री विकास गरेका छन् । ती सामग्रीहरूको सम्पादन तथा छपाइ कार्य शीघ्र सम्पन्न गरी नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यालयहरूमा वितरण गर्ने योजना रहेको छ ।

कार्यक्रममा बोल्दै फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलले कपिलवस्तुमा ठूलो संख्यामा अवधिभाषी बालबालिका रहेको उल्लेख गर्दै उनीहरूका लागि उपयुक्त सामग्रीको अभाव महसुस भएपछि यस्तो पहल गरिएको बताउनुभयो ।

यसैगरी साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहालले प्रारम्भिक शिक्षामा भाषाको भूमिकालाई केन्द्रमा राख्दै संज्ञानात्मक विकास, सिकाइको दिगो आधार र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन मातृभाषाको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।

कार्यशालामा सहभागी शिक्षक तथा विज्ञहरूले नवीन शिक्षण विधि, सामग्री विकास र कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक उपायहरूबारे विचार आदान–प्रदान गरेका थिए । साथै, नेपालीसँगै अवधिभाषामा पनि शैक्षिक सामग्री तयार पार्नुपर्ने आवश्यकतामा जोड दिँदै यसले अवधिभाषी बालबालिकाको सिकाइ प्रक्रियालाई थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । यस्ता कार्यशालाले प्रारम्भिक शिक्षामा गुणस्तर वृद्धि गर्नुका साथै बालबालिकामा पढ्ने बानी, समझ क्षमता र सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, शिक्षा समन्वय इकाइका निमित्त प्रमुख चोपलाल बेलबासे , पिस नेपालका मणिप्रसाद गैरे लगायतले स्थानीय भाषा , शैक्षिक सामग्री र पाठ्यक्रमको बारेमा बोलेका थिए।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ