कपिलवस्तुमा सुन चोरेको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ

समाचार

इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन चोरीको आरोपमा दुई पाकिस्तानी महिलाहरू पक्राउ परेका छन् ।

मंगलबार साँझ साढे ५ बजेतिर सुन किन्ने बहानामा सो सुन पसलबाट बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन् । सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने क्रममा उनीहरूले सुन चोरी गरेको सीसीटीभीको फुटेजमा देखिएको छ ।

सुन चोरेपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए । पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गरेका थिए । केही पर पुगेपछि ती महिला फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

ती महिलाले एकै दिन रूपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले नगद देखाएर तथा गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाउने गरेको पाइएको छ ।

पक्राउ परेकामध्ये कलसुम र सहबाना नामका महिलाको साथबाट पाकिस्तानको पासपोर्ट समेत बरामद भएको प्रहरीले जनाएको छ । योगीकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत चोरी गरेको तथ्य फेला परेको छ ।

हाल उनीहरूविरुद्ध चोरी तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पक्राउ परेका महिलाको गिरोह नै रहेको तथा उनीहरू सुनको चोरीमा संलग्न रहेको प्रहरीले बताएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ