दाङ । बालबालिकाका सवालहरू कुनै एउटा निकायको मात्र नभई सबैको साझा सवाल भएको र यसका लागि सामूहिक प्रयास आवश्यक रहेको गाउँपालिका राष्ट्यि महासंघले जनाएको छ । बालअधिकारका क्षेत्रमा आआफ्नो तर्फबाट पूर्ण सहयोग र समन्वय गर्ने ऐक्यबद्धतासमेत महासंघले गरेको छ ।
महासंघले बालबालिकाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने मुख्य उद्देश्यका साथ काम गर्ने प्रतिवद्धता समेत जनाएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा पीस नेपाल र बालअधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल, लुम्बिनी प्रदेशको समन्वयमा दाङमा लुम्बिनी प्रदेशका बालबालिकाको अवस्था, सवाल र अधिकारका विषयमा एक विशेष अन्तरक्रियात्मक बैठकमा यस्तो धारण आएको हो ।
महांसघ लुम्विनी प्रदेश अध्यक्ष तथा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बालबालिकामा लगानी, सम्मान तथा सहभागिताको लागि आगामी आर्थिक वर्षदेखि थप नीति कार्यक्रम र बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।
साथै उनले बालमैत्री स्थानीय शासन पालिका बनाउनको लागि प्रदेशका घोषणा हुन बाँकी पालिकाहरुलाई तत्काल अवलम्बन र उक्त कार्यलाई तीव्रता दिने विश्वास व्याक्त गरेका छन् ।
पोषण, विद्यालयबाट बाहिर रहेकालाई विद्यालय ल्याउने र निकृष्ट प्रकारका श्रममा लागेका बालबालिकाहरुलाई त्यसबाट बाहिर ल्याउन सबैको सहकार्य ल्याउन जरुरी रहेको बढैयालात गाउँपालिकाका अध्यक्ष हिमलाल त्रिपाठीले बताए ।
त्यस्तै, राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले बढ्दो सामाजिक संजालको प्रयोगले बालविवाहको समस्या आएको प्रति आफुहरु चिन्तित रहेको बताइन् । उता रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले लागूऔषध प्रयोग र दुर्व्यसनी नियन्त्रणमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास शाखाकी महिला विकास निरीक्षक कमला ज्ञवालीले बालबालिकाको अधिकार सुनिश्चितका लागि सबैको पहल र जिम्मेवारी हुनुपर्ने धारणा राखिन् । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न मन्त्रालय सदैव लागिपरेको र आगामी दिनमा पनि उनीहरूको हकहितका लागि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरिन् ।
महांसघका प्रदेश समन्वय अधिकृत रबिन गौतमले संचालन गरेको कार्यक्रममा पीस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेले प्रदेशको बालबालिकाको अवस्थाको बारेमा जानकारी दिएका थिए । बैठकमा सामुदायिक संस्थाका प्रतिनिधि, बाल क्लबका सदस्यहरू तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया