स्वास्थ्य क्षेत्रमा कलम चलाउने २ महिला पत्रकार पुरस्कृत

समाचार

राकेश यादव, रौतहट । जिल्लामा संचालित रेड टेलिभिजनका संचालिका रामा यादवको ५औं पुण्य तिथिको अवसरमा २ जना महिला पत्रकारलाई पुरस्कृत गरिएको छ ।

२६ हजार नगद राशी भएको रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१, २०८२ बाट धनुषाकी चान्दनी झा र बाराकी शारदा पोखरेललाई सोमबार सदरमुकाम गौरमा रामा यादव स्मृति प्रतिष्ठानद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा सम्मानित गरिएको हो ।

स्वास्थ्यको क्षेत्रमा देखिएको बेथिति र सुधारका पक्षमा कलम चलाउने महिला पत्रकारलाई सम्मानित गर्ने घोषणा अनुरूप दुबै जना महिला पत्रकारलाई सम्मानित गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले अहिले संचारकर्मीहरुलाई एक ढिक्का भएर अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

नेपाल सरकारले गरेको निर्णयले निजी संचारगृह र संचारकर्मीसमेत प्रभावित भएको उल्लेख गर्दै एकजुट भएर आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ रहेको छ ।

कोभिड महामारीको प्रकोप बढेको बेला मृत्युवरण गरेकी संचारउद्यमी रामा यादवप्रति श्रद्धासुमन अर्पण गर्दै अध्यक्ष यादवले सम्मानित हुने महिला संचारकर्मीलाई स्वास्थ्यको क्षेत्रमा अझ कलम चलाउन यो पुरस्कारले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पत्रकारिता लोकतन्त्रको आधारशिला भएकोले सत्य तथ्यको आधारमा कलम चलाउन आग्रह गरे ।

नागरिकको प्रतिनिधित्व गर्दै सत्यलाई उजागर गर्नुपर्ने धर्म संचारकर्मीको भएकोले खोजमूलक समाचार प्रकाशित गर्नु पर्ने धारणा व्यक्त गरे ।

अनु यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राम आयोध्या यादव, वरिष्ठ पत्रकार प्रभात कुमार झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले आआफ्नो मन्तव्य राख्दै घोषणा गरिएको रामा यादव स्मृति पत्रकारिता पुरस्कारलाई निरन्तरता दिनर्लाइ जोड़ दिएका छन् ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख संघ सस्थाका प्रतिनिधि र जिल्लामा विभिन्न संचारमाध्यममा आवद्ध रहेका संचारकर्मीहरुको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ