काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजीव झाका पिता तथा शिक्षासेवी गंगेश झाको निधन भएको छ। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
धनुषा जिल्लाका शिक्षण तथा सामाजिक क्षेत्रमा सक्रिय झा आजीवन शिक्षा, किसान अधिकार र सामाजिक परिवर्तनका लागि समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। सत्य र न्यायको पक्षमा निर्भीक रूपमा उभिने उहाँको स्वभावका कारण स्थानीय समाजमा विशेष सम्मान थियो।
झाले धनुषाको दुहबी, गोबराही, तिनकौरिया चोक, ढल्केवर, पुस्वलपुर, ठाढी तथा सखुवा मडानलगायतका विद्यालयमा शिक्षक तथा प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएको थियो। नेपाली र संस्कृत भाषाका ज्ञाता उहाँले नेतृत्व गरेका विद्यालयहरूमा नियमित र गुणस्तरीय पठनपाठनलाई प्राथमिकता दिँदै ‘सातै घण्टी पढाइ’ अनिवार्य गराउनुभएको थियो।
पञ्चायतकालमा शिक्षकहरूको तलब वृद्धि तथा हकहितका लागि उहाँले सञ्चालन गरेको ‘लालटेन आन्दोलन’ विशेष रूपमा स्मरणीय छ। दिउँसै लालटेन बालेर गाउँदेखि जनकपुरधामसम्म पैदल यात्रा गर्दै विरोध प्रदर्शन गरेका उहाँ त्यसक्रममा दुई महिना जेलसमेत बस्नुभएको थियो। उक्त आन्दोलनपछि शिक्षकहरूको तलब वृद्धिमा राज्यले कदम चाल्न बाध्य भएको स्थानीयहरू बताउँछन्।
झाले ग्रामीण विकास तथा किसान हितका विभिन्न अभियानको नेतृत्व गर्नुभएको थियो। उहाँकै अगुवाइमा श्रमदानमार्फत नहर निर्माण गरी कमला नदीको पानी गाउँका खेतसम्म पुर्याउने काम गरिएको थियो।
आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शुल्क आफ्नै तलबबाट तिरेर अध्ययनको अवसर सुनिश्चित गरिदिने उहाँको बानीले धेरै विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याएको थियो। साथै किसान तथा मजदुरको पारिश्रमिक वृद्धि आन्दोलनमा समेत उहाँ सक्रिय रहनुभएको थियो।
गंगेश झाको निधनसँगै धनुषा जिल्लाले एक समर्पित शिक्षक, समाजसेवी तथा किसान आन्दोलनका अगुवालाई गुमाएको छ। शिक्षा, सामाजिक न्याय र श्रमजीवी वर्गको अधिकारका लागि उहाँले पुर्याएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास गरिएको छ।
यस दुःखद घडीमा स्वर्गीय गंगेश झाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
तपाईको प्रतिक्रिया