काठमाडौं । राष्ट्रिय एकता दलले स्थल सीमा नाकाबाट आवतजावत गर्ने नेपाली नागरिकका लागि लागू गरिएको भन्सार छुट सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्दै कम्तीमा ५ हजार रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भन्सार महसुल छुट दिन सरकारसँग माग गरेको छ।
दलका अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा हाल सरकारले सीमा नाकाबाट ल्याइने निजी प्रयोगका वस्तुमा ५०० रुपैयाँसम्म भन्सार छुट दिने व्यवस्था गरेको भए पनि उक्त सीमा पर्याप्त र व्यवहारिक नभएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार यसअघि १०० रुपैयाँसम्मको छुट सीमा निर्धारण गरिएकामा व्यापक जनगुनासो र विरोधपछि सरकारले त्यसलाई बढाएर ५०० रुपैयाँ पुर्याएको थियो। तर, वर्तमान आर्थिक अवस्था र सीमावर्ती क्षेत्रका नागरिकको दैनिक आवश्यकतालाई सम्बोधन गर्न उक्त व्यवस्था अझै अपर्याप्त रहेको दलको भनाइ छ।
राष्ट्रिय एकता दलले नेपाल–भारतबीचको ऐतिहासिक, सामाजिक तथा पारिवारिक सम्बन्धलाई दृष्टिगत गर्दै सीमावर्ती क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य उपचार, पारिवारिक आवश्यकता तथा दैनिक उपभोगका सामग्रीका लागि हुने सीमापार आवतजावतलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ।
दलले कम्तीमा ५ हजार रुपैयाँसम्मका निजी प्रयोजनका सामानमा भन्सार छुटको व्यवस्था गरिए सीमावर्ती क्षेत्रका नागरिकलाई राहत पुग्ने, अनावश्यक झन्झट तथा विवाद कम हुने र प्रशासनिक बोझसमेत घट्ने विश्वास व्यक्त गरेको छ।
विज्ञप्तिमार्फत दलले सीमावर्ती नागरिकका समस्या र आवश्यकतालाई केन्द्रमा राखेर व्यावहारिक, जनमैत्री तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ।
साथै, जनभावनाविपरीतका यस्ता व्यवस्थालाई निरन्तरता दिइए नागरिकको अधिकार र हितको पक्षमा लोकतान्त्रिक संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत राष्ट्रिय एकता दलले दिएको छ।
तपाईको प्रतिक्रिया