काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी शुक्रबारदेखि तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार उनी जेठ २२ देखि २४ गतेसम्म भारतको भ्रमणमा रहनेछन्।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल हुनेछ। विशेषगरी व्यापार तथा लगानी प्रवर्द्धन, ऊर्जा सहकार्य, यातायात तथा सम्पर्क सञ्जाल विस्तार र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषय प्राथमिकतामा रहनेछन्।
नियमित उच्चस्तरीय कूटनीतिक संवादको निरन्तरताका रूपमा हेरिएको यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यतालिकाअनुसार मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किनेछन्।
तपाईको प्रतिक्रिया