काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भ्रमणको मुख्य उद्देश्य नेपालको आर्थिक विकास र समृद्धिका लागि नयाँ सम्भावनाको खोजी रहेको बताएका छन्।
नयाँ दिल्लीमा प्रवासी नेपाली सम्पर्क मञ्च भारतले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउने विषयलाई केन्द्रमा राखेर भारत आएको बताए। उनले राजनीतिक भेटघाटभन्दा पनि विकास र समृद्धिसम्बन्धी सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गरे।
कार्यक्रममा उनले नेपालले अब केवल सम्मान मात्र होइन, आर्थिक समृद्धि पनि हासिल गर्नुपर्ने आवश्यकता औंल्याए। विगतमा धेरै नेताहरू राजनीतिक उद्देश्य लिएर दिल्ली आएको स्मरण गर्दै उनले आफू भने आर्थिक अवसर र सहकार्यको ढोका खोल्ने उद्देश्यका साथ आएको बताए।
लामिछानेले आफ्नो भ्रमण कुनै व्यक्तिगत वा पार्टीगत स्वार्थसँग सम्बन्धित नभएको स्पष्ट पार्दै सम्पूर्ण एजेन्डा नेपाल र नेपालीको हितमा केन्द्रित रहेको दाबी गरे। भारतमा प्राप्त सम्मानलाई उनले व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण नेपाली समुदायप्रतिको सम्मानका रूपमा व्याख्या गरे।
भारतले पछिल्ला वर्षहरूमा विकास र पूर्वाधारका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि सिक्न सक्ने उल्लेख गर्दै उनले आर्थिक सहकार्य र कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा पहल भइरहेको बताए।
प्रवासी जीवनको अनुभव आफूले पनि भोगेकाले विदेशमा रहेका नेपालीका समस्या र चुनौतीबारे राम्रोसँग जानकार रहेको उनले बताए। रास्वपाले प्रवासी नेपालीका सरोकारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अवसर विस्तार गरी नेपालीहरूलाई मातृभूमि फर्कने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले रास्वपाको लक्ष्य राजनीतिक भागबन्डाको संस्कृतिको अन्त्य गर्दै सुशासन र समृद्धिको आधार तयार गर्नु रहेको बताए। साथै, विदेशमा रहेका नेपालीहरूलाई आफ्नो सीप, अनुभव र लगानी नेपालमा उपयोग गर्न आग्रह गर्दै देश निर्माणको अभियानमा सहभागी हुन आह्वान गरे।
कार्यक्रमका क्रममा एभरेस्ट चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले प्रवासी नेपालीका विभिन्न समस्या र सुझाव समेटिएको ज्ञापनपत्र पनि लामिछानेलाई हस्तान्तरण गरेका थिए। दिल्लीका कार्यक्रमहरू सम्पन्न गरेपछि उनी अयोध्या भ्रमणका लागि प्रस्थान गरेका छन्।
तपाईको प्रतिक्रिया