राकेश यादव, रौतहट । रौतहट प्रहरीले दुर्घटना गराई फरार रहेका चालकलाई टिपरसहित पक्राउ गरेको छ। घटनाको तीन दिनपछि प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिन सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार, जेठ २५ गते बिहान करिब ६ बजे रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डमा साइकलमा यात्रा गरिरहेका गढीमाई नगरपालिका–९ निवासी अन्दाजी ४५ वर्षीय प्रमोद सहनीलाई टिपरले ठक्कर दिई फरार भएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीय तथा मृतकका परिवारजनले गरुडास्थित मुख्य सडकमा शव राखेर प्रदर्शन गरेका थिए।
सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले फरार सवारी साधन र चालकको खोजी तीव्र बनाएको थियो। सोही क्रममा २०८३ जेठ २८ गते बिहान करिब ९ः३० बजे गढीमाई नगरपालिका–२ समनपुरस्थित सडकबाट दुर्घटनामा संलग्न प्रदेश २–०३–००१ ख २६३३ नम्बरको टिपर र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका–२ विश्रामपुर निवासी शिष महम्मद अन्सारीका २४ वर्षीय छोरा अब्दुल एजाज रहेका छन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न चालक पक्राउ परेपछि पीडित परिवारले न्याय पाउने आशा जागेको बताएका छन्।
तपाईको प्रतिक्रिया