झापा । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माण कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले झापाको विर्तामोडमा दुवै देशका अधिकारीहरूको संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ।
नापी विभागको सीमा शाखाको आयोजनामा भएको बैठकमा झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमावर्ती क्षेत्रमा सञ्चालन भइरहेको फिल्ड कार्यको प्रगति समीक्षा गरिएको थियो। संयुक्त प्राविधिक टोलीले पछिल्ला तीन महिनामा सम्पन्न भएका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा थप सुधार आवश्यक रहेका सीमास्तम्भबारे जानकारी गराएको थियो।
बैठकमा सीमाङ्कनलाई स्पष्ट र व्यवस्थित बनाउने, सीमास्तम्भको संरक्षणलाई सुदृढ गर्ने तथा सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधानका उपायबारे छलफल भएको थियो। साथै आगामी कार्ययोजना र आवश्यक समन्वयका विषयमा पनि दुवै पक्षबीच सहमति जुटाइएको जनाइएको छ।
नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले द्विपक्षीय समझदारीअनुसार सीमास्तम्भ मर्मत तथा पुनःनिर्माणको काम अघि बढिरहेको बताए। उनका अनुसार संयुक्त टोलीले स्थलगत निरीक्षणपछि तयार पारेका प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने प्रक्रिया निरन्तर जारी छ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय फिल्ड कार्यअन्तर्गतको सर्वे बैठक सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। उनले सीमा व्यवस्थापनमा संलग्न निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताए।
बैठकमा नेपाल र भारतका प्रशासनिक, सुरक्षा तथा प्राविधिक निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दुवै देशबीच सीमासम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा यस्ता बैठक आयोजना हुँदै आएका छन्। सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउँदै सीमावर्ती क्षेत्रमा पारस्परिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित आगामी कार्यक्रमहरू तय गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया