काठमाडौं । जन अधिकार पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा उपसभापति स्वर्णिम वाग्लेले प्रदेश संरचना खारेज गर्ने प्रस्ताव अघि सारेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले उक्त प्रस्तावलाई संघीयता विरोधी र संविधानको मूल मर्ममाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ।
पार्टी अध्यक्ष डा. शरद सिंह यादवद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालमा पूर्ण स्वायत्ततासहितको संघीयताको माग अझै सान्दर्भिक रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रदेश खारेजीको प्रस्तावले संघीयता नै समाप्त गर्ने उद्देश्य बोकेको दाबी गरिएको छ।
जन अधिकार पार्टीले मधेशी, थारु, आदिवासी, जनजाति तथा अल्पसंख्यक समुदायको लामो संघर्षपछि संघीय व्यवस्था स्थापित भएको स्मरण गराउँदै अधिकारलाई पुनः काठमाडौं केन्द्रित बनाउने प्रयास स्वीकार्य नहुने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “संघीयता सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने व्यवस्था हो। प्रदेश खारेजको प्रस्तावले प्राप्त अधिकारमाथि प्रहार गर्छ र यसले नयाँ आन्दोलनको अवस्था सिर्जना गर्न सक्छ।”
पार्टीले पूर्ण स्वायत्ततासहितको संघीयताको पक्षमा दृढ समर्थन रहने स्पष्ट गर्दै संघीयता कमजोर पार्ने वा समाप्त गर्ने कुनै पनि प्रयासलाई असफल पार्न मधेशका जनसमुदायलाई सचेत र एकताबद्ध रहन आह्वान गरेको छ।
जन अधिकार पार्टीले संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश संरचनाको सुदृढीकरणमार्फत मात्रै समावेशी र न्यायपूर्ण राज्य निर्माण सम्भव हुने धारणा पनि व्यक्त गरेको छ।
जारी विज्ञप्तिमा संघीयता र प्रदेश संरचनामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपको सशक्त प्रतिवाद गरिने चेतावनी समेत दिइएको छ।
तपाईको प्रतिक्रिया